तरहरा/ इटहरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरुले शनिबार इटहरीमा विजयको खुसीयाली मनाएका छन् । अाफुहरुलाई मतदान गर्ने व्यापारीहरुसमक्ष गई उनीहरुले विजयको खुसीयाली मनाएका हुन् । itari विजय जुलुस पञ्चेबाजासहित निकालिएको थियो । इटहरी चोकको मुख्य बजार परिक्रमा गर्दै नवनिर्वाचित अध्यक्ष लिलम बस्नेतसहितका सदस्यहरुले विजयको खुसी बाँडे । नवनिर्वाचित अध्यक्ष बस्नेतले उवासङ्घलाई बलियो बनाउँदै लैजाने बताए । उनले लामो समयदेखि निमार्णाधीन अवस्थामा रहेको सङ्घको भवनलाई पूरा गर्ने र व्यापारीहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष बस्नेतले भने, ‘इटहरी उद्योग वाणिज्यमा आमूल परिवर्तन ल्याउँछु ।’ शुक्रबार सम्पन्न मतगणनाबाट बस्नेत प्यानलका अधिकांश सदस्य निर्वाचित भएका थिए । प्रतिस्पर्धी ईश्वरी पराजुली पक्षका ६ जनाबाहेक सबै सदस्य बस्नेत प्यानलकै छन् । बस्नेत एमालेपक्षधर हुन् भने पराजुली काङ्ग्रेसपक्षधर व्यापारी हुन् । पराजुलीलाई एमाओवादी केन्द्र र राप्रपा नेपालको समेत साथ थियो ।