शनिश्चरे/आर्थिक वर्ष सकिन लागेको हतारोको क्रममा मोरङमा कँही पानी परिरहेको बेलामा सडकको कालोपत्रे मर्मत भइरहेको छ भनें कँही कालोपत्रे भएको २२ दिनमै सडक भत्किन थालेको दृष्यले स्थानीयलाई रनभुल्लमा पारेको छ । ‘र्याप ३’ को लगानीमा दुहवीको गिताञ्जली कन्ट्रक्सनले ठेक्कामा काम सकेको खोर्साने –केराबारी सडकको कालोपत्रे बनेको २२ दिनमै खाल्डाखुल्डी परेपछि स्थानीय आक्रोसित बनेका छन् । सो सडकखण्ड अन्तर्गतको कोसीहरैंचाको खोर्साने सिरान जंगलबाट केराबारी ५ को तोरीबारीसम्मको ७ किलोमिटर लम्बाई र ३ मिटर ७५ सेमी चौडाईको कालोपत्रे सम्पन्न भएको थियो । pich त्यसको दाँया वाँया १ मिटर २५ सेमी क्षेत्र निर्माणको क्रममै रहेको बेला मुल सडक खाल्डा परेपछि स्थानीयले सम्बन्धित निकायलाई बोलाएर छानविन गर्न दवाव दिएका छन् । ५ करोड ३७ लाखको ठेक्कामा निर्माण सम्पन्न भएको सडक खाल्डाखुल्डीमा परिणत भएपछि स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, र्याप र ठेकेदार पक्षका प्राविधिकहरुको टोलीलाई सोही सडकमा स्थानीयले झिकाए । मोरङ ८ का सांसद चन्द्रबहादुर गुरुङको समेत उनीहरुको ध्यानाकर्षण गराएका छन् । जिविस, लगानीकर्ता र निर्माण ठेकेदार पक्षसमेतको सहभागितामा अवलोकन गरी सडकको परीक्षणका लागि नमूना संकलन गरेर लगिएको छ । ‘यो कालोपत्रेको सामग्रीको ल्याव टेष्टको रिजल्ट आइसकेको छैन । कमसल सामानको प्रयोग या प्राविधिक पक्ष कस्को कमजोरीले भत्किएको भन्ने पत्ता लाग्छ । सम्बन्धित पक्षलाई यसको निर्माणका लागि भन्छौं ।’– स्थानीय विकास अधिकारी मैनालीले ब्लाष्टसँग भने । सडक निर्माण हुनासाथ केराबारीको क्रसरबाट लोड भएका सामग्री बोकेका ट्क तथा ट्पिरहरु गुडिरहेकाले पनि सडक भत्कनमा सघाएको हुन सक्ने केही स्थानीयको भनाई छ । दर्जनौं ठाँउमा वाटोकोबीच भागमा खाल्डा परी भत्किएको र आधा भन्दा वढी ठाउँमा भत्कने अवस्था रहेको पाइएको छ । अत्याधुनिक प्रविधि ‘अस्फाल’ मार्फत पूर्वाञ्चलमा पहिलो पटक निर्माण गरिएको भनिएको छ । ‘कृषि सडक अन्तर्गतको सो सडक बनिदै भत्किन सुरु हुनुको सम्पुर्ण जवाफदेही ठेकेदार कम्पनी नै हुनुपर्ने अन्यथा सडक पास हुन नदिने हामी स्थानीयको माग छ ।’– सडकको अवस्थामा बारे चासो दिनेमध्येका स्थानीय बलबहादुर भुजेलले भने । सडकको ठाउँ ठाउँमा पानी रसाएका कारण साना गाडी गुडाउदा पनि सडक हल्लिने गरेको देखिन्छ । मोटरवाटो कालोपत्रेका क्रममा दुहवीदेखि मेटरियल पकाएर ल्याउने गरिएको थियो । जसले गर्दा त्यसको तापक्रम नपुगेको हुनसक्ने पनि आशंका छ । सडक एक महिना अघि सम्पन्न भएको थियो । वर्षा हुन नथाल्दै काम सकिएको सडक भत्किएको अवस्थामा उता, जिल्लाको पथरीशनिश्चरे र उर्लाबारीमा सडक विभाग विराटनगरमार्फत सडकको कालोपत्रे मर्मत कार्य पानी परिरहेको बेलामा भइरहेको छ । कालोपत्रेका लागि पानी प्रमुख वाधक हुने भएपनि सो क्षेत्रमा वर्षाको समयमा मात्र होइन पानी नै परिरहेको अवस्थामा सडक मर्मत हुँदा मर्मतकै समयमा कालोपत्रे उक्किरहेको देखिन्छ । पथरीशनिश्चरेस्थित जिरिखिम्तीको डाँसखोला पुल क्षेत्रमा मंगलबार र बुधबार रातीसम्म पानी परिरहेको अवस्थामा कालोपत्रेको मर्मत भइरहेको थियो । ‘खै हामीलाई त काम चाँडै सक्नु भनेर भन्नु भाको छ । अलिअलि पानी परेपनि काम सक्नका लागि हतार गर्नै पर्यो ।’– कालोपत्रे मर्मत गरिरहेका एक मजदुरले आफ्नो नाम उल्लेख गर्न नमान्दै भने । आर्थिक वर्षका हिसावले असार मसान्तसम्म काम नसके बजेट फ्रिज हुने अवस्थाले बजेट सक्नकै लागि वर्षामा गुणस्तरीय काम गर्नेहरुलाई नियमन निकालयले कारबाही गर्नुपर्ने स्थानीय शिक्षक किशोर खड्काको भनाई छ ।