धरान/ धरान उपमहानगरले सडक बत्तीमा खपत भइरहेको विद्युत् भार घटाउन अहिले सोलार जडान गर्ने योजना अघि सारेको छ । योजनाअनुसार आगामी कात्तिक मसान्तसम्म धरान उपमहानगरले चार सय सोलार जडान गर्ने भएको छ ।

सडक बत्तीमा मात्रै धरान उपमहानगरले नेपाल विद्युत् प्राधिकरणलाई करीब ५ करोड बक्यौता तिर्न बाँकी छ । वर्षेनी बक्यौता थपिँदै गएको छ तर यस वर्षदेखि उपमहानगर विद्युत्मा भइरहेको बक्यौतासँगै विद्युत् भारलाई नै घटाउने तयारीमा लागेको छ । अहिलेसम्म उपमहानगरले मुख्य बजार क्षेत्रहरुमा ६६ वटा सौर्य सडक बत्ती लगाइसकेको छ । लक्ष्मीचोकदेखि बरगाछीसम्म जडान भएका सौर्यबत्ती भएको क्षेत्रमा अहिले ‘भ्यापर लाइट’ (विद्युत् बढी खपत गर्ने बत्ती) समेत बल्न छाडिसकेका छन् । धरान उपमहानगर र नगर विकास कोषको ६० लाख रुपैयाँले यो काम भएको हो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असारभित्र काम सक्न भन्दै सौर्यबत्ती जडानका लागि धरान उपमहानगरलाई २ करोड ३८ लाख रुपैयाँ पठाएको छ । ६५ प्रतिशत मन्त्रालय र बाँकी ३५ प्रतिशत उपमहानगरले व्यहोर्ने गरी पठाइएको यो रकमबाट कम्तीमा चार सय सौर्यबत्ती जडान गर्न तीव्रता दिइएको छ । ‘विद्युत् भार घटाउने उद्देश्यले नै यो काम शुरु भएको हो’, धरान उपमहानगर योजना शाखाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ भन्छन्, ‘यसको मुख्य उद्देश्य नै ऊर्जा सङ्कटलाई कम गर्नु हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा सङ्कट मोचन गर्न आह्वान गरेसँगै शुरु भएको सौर्यबत्तीको अभियानमा अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण अहिले स्थानीय निकायहरु दवाब झेल्दै छन् ।
‘असारमै सक्नुपर्ने भन्दै रकम विनियोजन हुँदा स्थानीय निकायहरुमा दवाब पर्ने गरेको छ ।’ इन्जिनियर श्रेष्ठ थप्छन् । सरकारको बाध्यकारी नीतिका कारण पनि स्थानीय निकायहरुले सोचेअनुरुपको काम अघि बढाउन नसकेको स्थानीय निकायका कर्मचारीहरु बताउँछन् । धरानको मुख्य सडकमा सौर्य सडक बत्ती जडान भएलगत्तै प्राधिकरणले गत वैशाख २० गते उपमहानगरपालिकालाई पत्राचार गर्दै हाल सञ्चालन भइरहेको सडक बत्तीको विषयमा जानकारी लिने प्रयास भएको प्राधिकरणका धरान शाखा प्रमुख खिलानाथ अर्यालले बताए । अर्यालका अनुसार उपमहानगरले सडक बत्तीबापत ५ करोड १४ लाख ८ हजार ९ सय ६० रुपैया ँ७२ पैसा बक्यौता तिर्नुपर्ने देखिन्छ ।
उपमहानगरले धरान क्षेत्रमा प्रयोग भइरहेका सडक बत्ती पूर्ण रुपमा विस्थापित गर्न सौर्य सडक बत्तीको अवधारणा ल्याएको हो जसमा जनसहभागितासमेत छ ।
धरानले १७ सय सौर्य सडक बत्ती जडान गर्ने बताएको छ । अहिले धरान उपमहानगरले धरान–७ शान्तिपथ क्षेत्र, धरान–१० नारायण चोक वरपर, धरान–१५ एभरेष्ट लाइन, ज्ञानचक्षु मार्ग, धरान–८ शहीद मार्ग, सिद्धार्थ मार्ग, हिमाली मार्ग, हिमालय महायान गुम्बा, धरान–१४ हात्तीसार क्याम्पस क्षेत्र र पिण्डेश्वर मन्दिर क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने सम्झौता गरिसकेको छ । अब यी क्षेत्रमा चाँडै नै विद्युत् सडक बत्ती हटाउने योजनामा धरान उपमहानगर लागिरहेको छ ।