धरान/पत्रकार महासङ्घका झापा सचिव एकराज गिरी र कार्यसमिति सदस्य सुरेन्द्र भण्डारीलाई पदबाट तत्काल हटाउन प्रेस चौतारी नेपाल झापाले माग गरेको छ । सचेत नागरिक समूहका नाममा मेची अञ्चलका चिकित्सकलाई लक्षित गरी भइरहेको प्रचारबाजीका विषयमा ब्लाष्टमा समाचार प्रकाशन भएपछि चौतारीले गिरी र भण्डारीमाथि कारवाहीको माग गरेको हो । सचेत नागरिक समूहको नाममा भूमिगत शैलीमा चिकित्सकहरुविरुद्ध वक्तव्यबाजी गर्ने काममा उनीहरु संलग्न रहेको पुष्टि भइसकेको बताउँदै चौतारीले यस्तो माग गरेको हो । chutari चौतारीका अध्यक्ष मुक्ति पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सचिव गिरी र सदस्य भण्डारीको संलग्नताको विषय सञ्चारमाध्यममा सार्वजनिक भइसक्दा पनि महासङ्घ झापाको नेतृत्वले मुख नखोल्नु र बैठक बसेर सामान्य छलफलसमेत नगर्नुले महासङ्घको भूमिका शङ्काको घेरामा पारेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गिरी र भण्डारीले भूमिगत समूहबाट पैसा लिने र उसको विज्ञप्ति अन्य सञ्चारमाध्यममा पठाइदिने गरेको आरोप लगाइएको छ । घटनामा संलग्नमाथि कारवाही नभए प्रेस चौतारी सशक्त आन्दोलनमा ओर्लिने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ । साथै, पत्रकारिता पेशालाई बदनाम गराएर व्यक्तिगत स्वार्थमा संलग्न पत्रकारमाथि कारवाही गर्न स्थानीय प्रशासनसमक्ष समेत चौतारीले माग गरेको छ । केही दिनयता ‘सचेत नागरिक समूह झापा’ का नाममा भूमिगत शैलीमा भइरहेका क्रियाकलाप र त्यसबारे सञ्चारमाध्यममा आएका समाचारप्रति प्रेस चौतारी झापा शाखाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । चौतारीले भूमिगत रुपमा चिकित्सकलाई धम्क्याउने, अपमानित गर्ने र आतङ्कित पार्ने जोसुकैको कार्यशैली निन्दनीय भएको ठहर गरेको छ । चौतारीले पत्रकारिता पेशालाई बदनाम गराएर व्यक्तिगत स्वार्थमा संलग्न पत्रकारमाथि कारवाही गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ ।