भद्रपुर/उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही गर्न नसक्दा देशमा भ्रष्टाचार र कालोबजारी मौलाउँदै गएको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । सरकारी पक्षले अनुगमनलाई कहिलेकाहीँ निरन्तरता दिने गरे पनि अनुगमनको क्रममा भेटिएका उपभोक्ता ठग्ने व्यापारीलाई उन्मुक्ति दिने गरेकाले भ्रष्टाचार र कालोबजारीले प्रोत्साहन पाइरहेको उनीहरुले गुनासो गरे ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको आयोजनामा आइतबार झापा सदरमुकाम भद्रपुरमा आयोजित उपभोक्ता सचेतनासम्बन्धी एकदिने अन्तत्र्रिmयाका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले बजेट भाषण गरेलगत्तै ठूला व्यापारीले पुरानो मूल्य सूचीमा लेबल लगाएर कानूनविपरीत मूल्यवृद्धि गरी उपभोक्ता ठग्ने गरेको आवाज उठे पनि सरकारले यसलाई रोकथाम गर्न नसकेको उनीहरुको भनाइ छ ।
यस शैक्षिक सत्रमा निजी विद्यालयका पाठ्यपुस्तक खरिद गर्दा अभिभावकले चर्को मूल्य तिर्नुपरेकोमा चौतर्फी विरोध भएपछि राज्यले बढी लिएको मूल्य फिर्ता गर्न सम्बन्धित प्रकाशन गृहलाई निर्देशन दिए पनि अभिभावकले हालसम्म रकम फिर्ता नपाएको गुनासो सहभागी शिक्षक शिवकुमार राजभण्डारीले पोखे ।
फितलो अनुगमनका कारण बजार मूल्यमा एकरुपता नभएकोले उपभोक्ताले खुलेआम ठगिनुपरेको पूर्वसांसद् पुष्पराज पोखरेलले बताए । उनले उपभोक्ता ठग्ने व्यापारीलाई स्थानीय प्रशासनले कडा कारवाही नगरेसम्म यस्तो गतिविधि नरोकिने ठोकुवा गरे । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य राजेन्द्र घिमिरेले सरकारी कर्मचारीबाटै उपभोक्ता ठगिने गरेकाले पहिले स्थानीय प्रशासनले त्यसतर्पm ध्यान दिनुपर्ने सुझाव दिएका थिए । अहिले देशको हरेक क्षेत्रमा उपभोक्ता ठगिए पनि सरकारले कुनै ठोस कदम चाल्न नसकेकोमा उनले आक्रोश पोखेका थिए ।
झापाका प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले ‘उपभोक्ता हित संरक्षण क्षेत्रमा कानूनी एवम् सङ्गठनात्मक व्यवस्था र विभागको भूमिका’ बारे कार्यपत्र प्रस्तुत गर्दै आम उपभोक्ताले सामान खरिद गर्दा बिलबिजक अनिवार्य लिर्नुपर्ने र व्यापारी नदिएको खण्डमा प्रशासनमा उजुरी दिन आग्रह गरेका थिए । त्यस्तै, मञ्चका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, मञ्चकी झापा अध्यक्ष मञ्जु पोखरेल, प्रशासन कार्यालयका कानून अधिकृत प्रमोद भट्टराई, झापाको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रलगायतले बोलेका थिए ।