सुनसरी / इलाका प्रहरी कार्यालय दुहवीले शुक्रबार अपहरणमा परेका मधेली गाविस ८ का १२ वर्षिय दिलवर मियाँलाई अपहरण मुक्त गराएको छ। मियाँलाई सोनापुर गाविस–१ बस्ने रिजवान अंसारी र सुनसरी अमाहिबेला गाविस– ५ का अलाउदिन मियाँले अपहरण गरेर भारत पुर्याएका थिए।
बालकलाई ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिव पोख्रेलको नेतृत्वको टोलीले शुक्रबार राती १२ बजे भारतको अररिया जिल्ला, फुल्का गाविस वडा नम्बर ६ मा मुख थुनेर राखेको अवस्थामा फेला पारी ल्याएका हुन्।
अपहरणकारीहरुले बालकको बुवा जियाबुल मियाँसँग ५ हजार रुपियाँ मागेका थिए। सो रकम नदिएपछि उनीहरुले उनको छोरा अपहरण गरेको खुल्न आएको छ।
छोरा अपहरणमा परेपछि जियाबुल मियाँले इलाका प्रहरी कार्यालय दुहवीमा उजुरी दिएका थिए। प्रहरीले अपहरणमा संलग्न रिजवान अन्सारीको दाजु सोनापुर–८ का सद्दाम हुसैनलाई पक्राउ गरी अनुसन्धान पश्चात रिजवान अन्सारीको मोवाइल लोकेसन पत्ता लगाई उनलाई समेत पक्राउ गरेको छ । अर्का अपहरणकारी अलाउदिन मियाँ भने फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको छ।