ताप्लेजुङ/ ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यामा संलग्न तीनजनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । गत जेठ २४ गते राति आफ्नै घरमा मारिएका खड्काको हत्यामा संलग्न फुरुम्बु–१ मयामका २३ वर्षीय गोली र सन्तोष भनिने अर्जुन लेछर्बो, १८ वर्षीय सन्दीप लेछर्बो तथा सुरेश भनिने हिमाल लेछर्बोलाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
[caption id="attachment_4741" align="alignnone" width="594"]
खड्काको घरमा चोरी गर्न गएको बेला उनीहरुले धारिलो हतियार प्रयोग गरी हत्या गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रामबहादुर केसीले बताए । मादक पदार्थ सेवन गरी खड्काको घरमा राति करीब साढे १० बजे हतियारसहित पुगेका उनीहरुले चामल किन्ने निहुँमा ढोका खोल्न लगाएर खड्कामाथि खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी केसीले जनाए । अभियुक्तमध्ये अर्जुनले खड्काको घाँटीमा पछाडिपट्टि खुकुरी प्रहार गरेका थिए । हत्यापछि उनीहरु खड्काको साथमा रहेको नगद र जिन्सीसहित धनमाल लिएर फरार रहेका थिए । घटनाको अनुसन्धान गरी उनीहरुलाई पक्राउ गर्न क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान समूहका पाँचजनासहित ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीलाई २० दिन लागेको थियो । तीन हजारभन्दा बढी टेलिफोन कलको अध्ययन र दुई सयभन्दा बढीसँग सोधपुछपछि मात्र उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा सीडीआर विश्लेषण र पोलिग्राफ तालिम प्राप्त टोलीसमेत परिचालन गरिएको थियो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । सदरमुकाम र फुरुम्बु–१ स्थित आफ्नै घरमा व्यापार गर्ने खड्काको हत्या भएदेखि नै व्यवसायीहरुले दोषीलाई चाँडो पक्राउ गर्न प्रहरीलाई दवाब दिइरहेका थिए । सोमबार अपराह्न अभियुक्तलाई सार्वजनिक गरिरहँदा पीडित परिवारमा रुवाबासी चलेको थियो ।