धरान / सुनसरीमा गएको छ महिनामा भएको मानव अधिकार उल्लघंनको घटनालाई केलाउँदा बलात्कारमार्फत् अत्यधिक मानवअधिकार उल्लघंन भएका छन् । सन् २०१६ को जनवरीदेखि जुनसम्म औपचारिक सेवा केन्द्र (इन्सेक) ले बुधबार दिएको तथ्याङ्कमा २७ वटा मानव अधिकार उल्लघंनको घटना मध्ये अधिकांस बलात्कारको घटना छन् । जसमा हत्या एक छ भने उल्लेख्य रुपमा बलात्कारका घटना भएको देखिन्छ । त्यो पनि गैर राज्यपक्षबाट अत्यधिक घटना भएका छन् । बाल अधिकारमा १८ घटना यो ६ महिनामा देखिन्छ । जसमा १२ जना बालिका बलात्कृतको शिकारमा परे भने ६ जना बालिकालाई बलात्कारको प्रयास भए । त्यस्तै ८ जना महिला अधिकार उल्लघंन भएका घटना छन् । त्यसमा पनि ५ जना महिना बलात्कृत र २ जनालाई बलात्कारको प्रयास भएको देखिन्छ । त्यसमा एक जना महिलामाथि हत्या भएको छ । ६ महिना अघिको घटनालाई हेर्ने हो भने राजनीतिक घटनाहरु अत्यधिक थिए भने त्यो वर्ष १६ वटा बलात्कारको घटना भएका थिए । ‘घटनाको ट्रेण्ड हेर्ने हो भने गएको एकवर्षमा जति भए त्यसको दोब्बर बलात्कारमार्फत मानव अधिकार उल्लघंनको घटना भेटियो ।’ इन्सेकका सुनसरी प्रतिनिधि शेखर ढकालले भने ‘गतवर्ष राजनीतिक मुभमेन्टका घटना थिए ।’ उनका अनुसार नै बलात्कारको घटना एकवर्षको आँकडालाई आधार मान्दा दोब्बर नै हुने गरेको छ । ‘त्यो बेलामा पनि घटना नभएका होइनन् । तर, सम्बन्धित कार्यालयहरुमा नआएको हुन सक्छ वा घटनै नभएको हुन सक्छ ।’ उनले थपे । इन्सेकले निकालेको अर्धवार्षिक तथ्याङ्कमा राज्यपक्षबाट मानव अधिकार उल्लघङ्नका घटना भएका छैनन् । सन् १९८८ मा स्थापना भएको इन्सेकले सन् १९९२ देखि वार्षिक, अर्धवार्षिक रुपमा घटनाको विवरण बारे पुस्तक प्रकाशन गर्ने गरेको पब्लिक अधिकृत देवराज पोखरेलले बताए । मानव अधिकारसँग सम्बन्धित राजनीतिक दल, पत्रकार तथा महिला सञ्जालहरुलेसमेत प्रतिवद्धतासमेत गरेका छन् ।