[caption id="attachment_4283" align="alignnone" width="729"]
तिब्बतीय शरणार्थी रहेको फले बस्ती / रविन भट्टराई[/caption]
ताप्लेजुङ / ताप्लेजुङको लेलेप स्थित फलेमा रहेका तिब्बतियन शरणार्थीहरुले सरकारसँग नागरिकता नभए परिचय–पत्र दिन माग गरेका छन् ।
विक्रम संबत २०२२ साल अर्थात सन १९६५ मा तिब्बतमा दलाई लामाको नेतृत्वमा बिद्रोह भए पछि आएका सताईस परीवारका एक सय बढि सरणार्थीहरुले आफुहरु सँग परीचय पत्र र नागरीकता दुबै नहुँदा आफ्नो परिवारको दैनिकी र जीवन चलाउन कठिन भएको गुनासो गरेका छन् ।
‘५ दशक अघि शरणार्थीको रुपमा खाली हात यहाँ आएका हौ,’ फलेका निम छोमुले भने ‘मान्छे हुनुको नाम र परिचयवाहेक हामीसँग न आफ्नो जग्गाजमिन छ, न नागरिकता नत परिचय पत्रनै’ परिचय पाएर मर्न पाए सन्तोक हुने थियो प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे समक्ष उनले भने ।
नेपालमै आएपछि जन्मिएर यही ५५ बर्षको बितायौ, अर्की शरणार्थी डोल्मा शेर्पाले भनिन्, बरु नेपाली केटासँग विहे गरेको भए नागरिकता त पाईन्थ्यो । नागरिकता अथवा परिचय पत्र नहुँदा जागिर पाउन देखि अन्य महत्वपूर्ण काममा समेत दुःख र सास्ती बेहोर्नु परेको उनीहरुको भनाई छ ।
शरणार्थी भएर आउदा बसेको सार्वजनिक जग्गामा साना काठले छाएको घरमा उनीहरुले जीवनको पाँच दशक लामो अवधि बिताइसकेका छन् । घर बाहेकको साना जग्गामा आलु खेती र चौरी पालन गरेर जिविका चलाइरहेको उनिहरुले नागरिकता र परिचय पत्र दुबै नहुँदा स–साना काममा पनि सास्ती बेहोर्नुपरेको गुनासो गरे ।
बालबच्चाको शिक्षाका लागि केहीले स्थानीय स्कुलमै पढाउने गरेका छन् भने केहीले पोखरा, काठमाण्डौ र दार्जेलिङका गुम्बाहरुमा पनि पढाउन पठाएका छन् । “हाम्रा बालबच्चालाई एउटा भाषामा मात्र पढाएर काम दिदैन, उनले स्थानिय डोल्माले भनिन्, तीन भाषा (नेपाली, तिब्बती र अंग्रेजी) अनिवार्य रुपमा पढाउनुपर्छ ।” यस्तो व्यवस्था जिल्लामा नभएकाले काठमाडौ, पोखरा र दार्जेलिङसम्म लैजानुपरेको उनको भनाई छ । हाल फलेमा २७ परिवारका ३५ नाबालकसहित करिव एक सय बढि शरणार्थी बस्दै आएका छन् ।
यस अघि नेपाल सरकार मार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यस क्षेत्रका ४६ जनालाई शरणार्थी परिचय पत्र प्रदान गरिएको भए पनि अधिकाँसले रिन्यू नगरेको तथा केहीको २०७० सालमा सदरमुकाममा भएको आगलागीमा जलेकाले अहिले उनीहरु परिचय पत्र विहिन अवस्थामा रहेका छन् । उनीहरुले सो समयमा सबैको परिचय पत्र नविकरण गर्न सदरमुकाम स्थित छत्र मादेनकोमा ल्याएर राखेको थिए । सोही समयमा आगलागी हुँदा सबै परिचय पत्र जलेको उनीहरुको भनाई छ । सो समयमा यस स्थानमा ८१ जना मात्र भए पनि अहिले संख्या बढेर एकसय नाघेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
तिब्बतियन शरणार्थीहरुले नागरिकताको माग गरे पनि जिल्ला तहबाट नागरिकता दिने नदिने निर्णय गर्ने अधिकार नभएकाले अहिले शरणार्थी परिचय पत्रका लागि मन्त्रालय र केन्द्रमा कुरा गरेकाले केही महिना पछिनै उनिहरुलाई स्मार्ट कार्ड वितरण गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।