धनकुटा/ नेपाल तामाङ घेदुङ, धनकुटाको आयोजनामा आइतबार हिलेमा तीनदिने भूकम्पीय जोखिम न्यूनीकरणका लागि समुदायमा आधारित तीनदिने सचेतना गोष्ठी सुरु भएको छ । धनकुटाका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालको प्रमुख आतिथ्यमा सुरु भएको गोष्ठीमा जिल्लाका विभिन्न गाविसका १७ महिलासहित तामाङ समुदायका ४५ जनाले भाग लिइरहेका छन् । गोष्ठी उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि दाहालले सरकारले तोकेको मापदण्डका आधारमा भवनहरू बनाएमा भूकम्पीय जोखिमबाट जोगिन सक्ने बताए । उनले मानव निर्मित संरचनाबाट मानवकै क्षति भएको धारणा राख्दै भूकम्पीय जोखिममुक्त संरचना बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुुगमन समितिका सदस्य एवम् उद्घाटन समारोहका विशिष्ट अतिथि कुमार ब्लोन तामाङले भूकम्प पुनःनिर्माण प्राधिकरणमा हालसम्म आदिवासी जनजाति समुदायको प्रतिनिधित्व नभएको बताए । समुदायमा आधारित पहिचानजन्य भवन निर्माण गर्दा सबै समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो । उनले आ–आफ्नै थातथलो भएका स्थानीय समुदाय तथा आदिवासी जनजातिहरुलाई जोखिमयुक्त बस्तीबाट हटाएर एकीकृत नमुना बस्ती विकासका नाममा कसैको अस्तित्व मेट्न नपाइने धारणा राखे । कार्यक्रममा तामाङ घेदुङका प्रदेश नं.१ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घका धनकुटा अध्यक्ष सञ्जयसन्तोषी राईलगायतले बोलेका थिए । घेदुङका धनकुटा अध्यक्ष सीताराम थिङ तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा घेदुङ प्रदेश नं. १ का सचिव निरेन तामाङ, घेदुङका पूर्व केन्द्रीय सल्लाहकार वीरबहादुर तितुङ तामाङ, केन्द्रीय सदस्य लालचन्द्र गोङ्वा तामाङ, महिला घेदुङका जिल्ला अध्यक्ष पेमाकुमारी लामा, युवा घेदुङका धनकुटा इन्चार्ज धिरेन थिङ्लगायतले पनि बोलेका थिए । तामाङ सञ्चार समूहकी मानवी मोक्तानले सञ्चालन गरेको कार्यक्रममा घेदुङका धनकुटाक सचिव सन्तवीर मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेका थिए । गोष्ठीमा धनकुटा नगरपालिकाका इन्जिनियर प्रमोद न्यौपाने र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर कमल बस्नेतले सहजीकरण गरिरहेका छन् ।