
भोजराज श्रेष्ठ,
धरान/ गृहमन्त्रालयले २०६९ सालमा १८ जिल्लालाई लक्षित गर्दै कडा खालका लागूऔषधबारे गरेको सर्वे अध्ययनले भन्छ, ‘२०६३ सालपछिको ६ वर्षमै लागूऔषध प्रयोगकर्ताहरु दोब्बर भएका छन् ।’
त्यस बेलाको अध्ययनमा ९१ हजार ५ सय ३४ जना लागूऔषध प्रयोगकर्ता देखिएका थिए । अर्थात् २०६३ मा यो सङ्ख्या ४६ हजार ३ सय ९ मात्र थियो । त्यही अध्ययनबाट लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ११ दशमलव ३६ प्रतिशत रहेको देखिन्छ । प्रयोगकर्ता स्कुले विद्यार्थीहरुको दरसमेत पछिल्लो ६ वर्षमा ह्वात्तै बढेको छ । २०६३ मा १४ प्रतिशत स्कुले विद्यार्थी प्रयोगकर्ता रहेकामा २०६९ मा आइपुग्दा २२ प्रतिशत पुगेको देखिन्छ ।
धरानको ‘ट्रेण्ड’ हेर्ने हो भने पनि कडा खालका लागूऔषध प्रयोगकर्ताहरु बढिरहेको देखाउँछ । अघिल्ला तीन वर्षको प्रहरी तथ्याङ्कलाई आधार मान्ने हो भने पछिल्ला दुई आर्थिक वर्षमा भन्दा यो वर्ष धरानमा खैरो हिरोइनका मुद्दा बढिरहेको देखिन्छ । चालू आर्थिक वर्षमा जेठको १५ गतेसम्मको प्रहरी अभिलेखमा खैरो हिरोइनसम्बन्धी ६ वटा मुद्दा अदालतसम्म पुगिसकेका छन् । यसले पनि धरानमा कडा खालका लागूऔषध प्रयोगकर्ताको अवस्था बुभ्mन मद्दत गर्छ ।
आवमा २०७०÷०७१ मा ४ र २०७१÷०७२ मा ५ वटा मुद्दा अदालत पुगेको धरानका डीएसपी ढकेन्द्र खतिवडाले जनाए । २०६९ कै अध्ययनलाई आधार मान्दा पनि लागूऔषध प्रयोगमा काठमाडौँपछि सुनसरी पहिलो नम्बरमा पर्छ । काठमाडौँमा ३६ हजार ९ सय ९८ जनाले कोकिन, हिरोइन, एलएसडी, र अन्य खालका मेडिकल ड्रग प्रयोग गर्ने गरेको तथ्याङ्क त्यसै बेला सार्वजनिक गरिएको थियो । सो अध्ययनमा सुनसरीमा ७ हजार ४ सय ७ जनाले त्यस्ता ड्रग्स प्रयोग गर्ने गरेको देखिन्छ ।
गृहमन्त्रालयले झापा, मोरङ, सुनसरी, पर्सा, मकनवानपुर, चितवन, ललितपुर, भक्तपुर, काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, कास्की, रुपन्देही, बागलुङ, बाँके, सुर्खेत, कञ्चनपुर र कैलाली गरी १८ जिल्लामा अध्ययन गरेको थियो । १८ जिल्लाका २६ वटा नगरपालिकामा गरिएको अध्ययनबाट प्रयोगकर्तामध्ये ९३ दशमलव १ प्रतिशत पुरुष र ६ दशमलव ९ प्रतिशत महिला भएको देखिएको थियो । तीमध्ये कक्षा ६ देखि १० सम्म अध्ययनरत् सबैभन्दा बढी ४१ दशमलव ९ प्रतिशत भएको देखिएको थियो भने एसएलसी गरिसकेकाहरुको प्रतिशत दोस्रो नम्बरमा थियो । अर्थात् यस्ता प्रयोगकर्ता ३४ दशमलव २ प्रतिशत देखिएका थिए ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा भएको चालू आर्थिक वर्षको जेठ १५ गतेसम्मको तथ्याङ्कअनुसार यस अवधिमा ब्राउन सुगर १ सय ३ ग्राम ७२० मिलिग्राम बरामद भएको छ । लागूऔषध बरामद हुने क्रम हरेक वर्ष बढिरहेको छ । कारोबारीसमेत बढिरहेका छन् भने प्रयोगकर्ताहरुसमेत बढिरहेको प्रहरीको तथ्याङ्कहरुबाट समेत प्रष्टिन्छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अभिलेखबाट आव २०७०÷०७१ मा ४४४ मुद्दाहरु दर्ता भएको देखिन्छ भने २०७१÷०७२ मा ५२२ वटा मुद्दा दर्ता छन् । चालू आर्थिक वर्षको माघसम्म २५३ वटा मुद्दा दर्ता भएका छन् । हिरोइन तथा ब्राउन सुगरजस्ता कडा खालका लागूऔषध प्रयोगकर्ताहरु अन्य ड्रग्स प्रयोगकर्ताको तुलनामा नगन्य रहेको प्रहरी बताउँछ । ‘सीमित युजरहरु छन्’, पूर्व क्षेत्रका डीआईजी केशरीराज घिमिरे भन्छन्, ‘७० प्रतिशतभन्दा माथि मेडिकल ड्रग्स प्रयोग गर्नेहरु नै छन् ।’ ड्रग्सकै क्षेत्रमा कार्यरत् डीआईजी घिमिरे अहिलेको अनुपातमै प्रयोगकर्ताहरु बढिरहे २०६९ पछिको ५ वर्षमा डेढ लाख युवायुवती यो कुलतमा फँस्ने दावी गर्छन् ।