इनरुवा/इनरुवा नगरलाई साक्षर नगर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ ।
नगरपालिका कार्यालयले सबै वडालाई एकसाथ साक्षर घोषणा गर्न लागेको हो । नवयुुव बहुउद्देश्यीय सहकारी संस्था बलाहाले साक्षर नगर घोषणा अभियानको तयारीलाई अघि बढाइरहेको छ ।
संस्थाका अध्यक्ष खेमराज पोखरेलले १५ वर्षदेखि ६० वर्ष उमेर समूहभित्रको जनसङ्ख्याको ९५ प्रतिशत साक्षर सङ्ख्यालाई आधार मानी इनरुवा नगरलाई साक्षर घोषणा गर्न लागिएको बताए । अभियानको क्रममा सरोकारवालाहरुले साक्षर व्यक्तिहरुको तथ्याङ्क सङ्कलनका लागि सञ्चालनमा ल्याउँदै आएको घरदैलो कार्यक्रम समेत पूरा भइसकेको नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताले जानकारी दिए ।
इनरुवाका साथै जिल्ला शिक्षा कार्यालय सुनसरीले इनरुवा नगरमा साक्षरता अभियानको पूर्णताका लागि साथ र सहयोग जनाउँदै आएको छ । यही १४ गते इनरुवालाई साक्षर नगर घोषणा गरिँदै छ । नगरपालिकाको कार्यालयले एकैदिन इनरुवा नगरलाई विभिन्न ७ शीर्षकमा पूर्ण क्षेत्र घोषणाको तयारी गरेको छ । खुला दिसामुक्त क्षेत्र, साक्षर नगर, बालश्रम मुक्त, बालविवाह मुक्त, पूर्ण खोपयुक्त र पूर्ण जन्मदर्तायुक्त नगर घोषणा गर्न लागिएको कार्यकारी अधिकृत मेहताले बताए ।