फुङलिङ / छोरा जन्मेको १३ वर्षपछि ताप्लेजुङमा एक महिलाले कानुनीरुपमा श्रीमतीको मान्यता पाएकी छन् । २०५९ साल भदौ ४  गते छोरा जन्माएकी हाङ्पाङ–७ की कल्पना रसाइली विश्वकर्मालाई हाङ्पाङ ७ कै दिलबहादुर आङ्बुहाङ लिम्बूले कानुनीरुपमा श्रीमती स्वीकार्दै विवाह दर्ता तथा छोरा युवराजको जन्मदर्ता गराएका छन् । कल्पनालाई गर्भवती बनाएर दिलबहादुर बेपत्ता बनेपछि १३ वर्षको उमेर हुँदासम्म पनि युवराजको जन्मदर्ता हुन सकेको थिएन । दलितको छोरीलाई श्रीमती स्वीकार गर्दा समाजमा अपमानित र बहिष्कृत हुने डरले दिलबहादुर भागेका थिए ।
युवराज जन्मन एक महिना बाँकी हुँदा २०५९ साल साउनमा दिलबहादुर आङ्बुहाङ लिम्बू गाउँकै अर्की एक महिलालाई साथमा लिएर भागेका थिए ।
तेह्रथुमबाट भागेर ती महिलासँगै भक्तपुरमा बस्दै आएका लिम्बू दुई छोरीको जन्मदर्ता गर्न ताप्लेजुङ आएका बेला पक्राउ परेको पत्रकार केशवप्रसाद भट्टराईले समाचार लेखेका छन् । 123लुकीछिपी छोरीहरुको जन्म दर्ता गर्न जिल्ला आएको थाहा पाएपछि कल्पना र कल्पनाका आफन्तले प्रहरी साथै अदालतमा खबर गरेपछि उनी पक्राउ परेका थिए । पक्राउ परेका लिम्बूमाथि कल्पनाले दुई वर्षअघि जिल्ला अदालत ताप्लेजुङमा अंश मुद्दा दायर गरेकी थिइन् ।
मुद्दाको प्रतिवादी फेला परेपछि जिल्ला अदालतले दुवै पक्षलाई मेलमिलाप गर्न भन्दै सामाजिक कानुनी सहायता केन्द्रलाई जिम्मा दिएको थियो । मुद्दाको सहजीकरण गर्ने जिम्मेवारी पाएपछि सहायता केन्द्रले दुवै पक्षसँग छलफल गरी सहमति जुटाउन सफल भएको हो । केन्द्रको पहलमा भएको छलफलपछि दुई पक्षबीच सहमति गरेर नाता प्रमाणित, विवाह दर्ता र जन्मदर्ता गर्ने काम भएको हो ।
दिलबहादुरले कल्पनालाई श्रीमती स्वीकार्दै पालनपोषण र युवराजको शिक्षादीक्षाको जिम्मासमेत लिएका छन् । मेलमिलापका लागि धेरै प्रयत्न गरेपश्चात् सहमति गरेर पीडितलाई न्याय दिन सफल भएको केन्द्रका संयोजक अधिवक्ता राम नेयोङले बताए ।
सहमति भएपछि दिलबहादुरले पनि कारबाहीको महसूस नगरेको र पीडित बनेकी कल्पनाले पनि १३ वर्षपछि न्याय पाएको भन्दै खुशी लागेको बताएको नेयोङले जानकारी दिए ।