धरान / अष्टधातु जडित ९० फुट अग्लो त्रिशुल बनाइने भएको छ । विश्व हिन्दु परिषद्ले झण्डै १३ करोडको लागतमा विश्वकै अग्लो त्रिशुल धरानको पिण्डेश्वर मन्दिर परिषरमा बनाउन लागेको हो ।
सुन, चाँदी, तामा, पित्तल, कासा, फलाम, पारो, जस्ता जडित त्रिशुल निर्माणको लागि विश्वबन्धु ताम्राकारलाई निर्माण संयोजकको जिम्मेवारी दिइएको छ । स्वर्गीय पिता रुद्रप्रसाद ताम्राकारको इच्छालाई सार्थक बनाउनको लागि अष्टधातु जडित त्रिशुल बनाउन लागिएको उनले बताए । ‘बुबाको सोच रहेछ । अष्टधातु जडित त्रिशुल बनाउने । त्यसैलाई सार्थकता दिनको लागि पहल थालिएको हो ।’ संयोजक ताम्राकारले भने ।
त्रिशुल स्थापनाको लागि देशविदेशबाट सहयोग जुटाउँदै केही वर्ष भित्र नै निर्माण सम्पन्न गर्ने र धरानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले बताए । उनका अनुसार २५ वर्ग फिट मोटाई रहने त्रिशुलका लागि आर्किटेक्चर इन्जिनियरहरुलाई लागत स्टिमेटसमेत निकालिसकेका छौं ।
नेपालमा ५६ फिट उचाईसम्मको त्रिशुल बनेको आफूले पाएकाले पनि त्यो भन्दा अग्लो बनाउने र धरानलाई अग्लो त्रिशुलको पहिचान दिने तयारीमा लागेको अधिकारीले बताए । यस्तै धरान–२, स्थित सिंहदेवी चोकमा धर्मश्थलीद्धारसमेत निर्माण गरिने उनले बताएका छन् । त्यसका लागि सिलान्याससमेत भइसकेको छ । धरानमै विश्व हिन्दु परिषद्ले १८ पुराण लगाउँनेसमेत तयारी भइसकेको अधिकारीले बताएका छन् । त्यसका लागि १४ अञ्चलकै पण्डितहरु बोलाउँदै २१ दिनसम्म पूराण लागिरहने बताए ।