धरान/ सुख्खायाम लागेपछि धरानका अधिकाङ्श क्षेत्रमा मोटर लगाएर पानी तान्ने परम्परा भएपनि सम्बन्धित निकायले कारबाही गरेको बिरलै सुनिन्छ ।
तर, धरान–१५ तुलसीपथ खानेपानी उपभोक्ता समितिमा रहेका १ सय ६३ घरधुरीले मोटर प्रयोग वा मिटर खोलेर पानी प्रयोग गरेमा ५ हजार ५१ रुपैयाँ जरिवाना तिराइन्छ । नेपाल खानेपानी संस्थान धरान शाखा अन्तर्गतकै पानी भएपनि उपभोक्ताले आफ्नै नियम बनाएका छन् । जहाँ खानेपानी चोरी हुने सम्भावना न्यून मात्रै छैन, मोटरले पानी तानेको मात्रै थाहा भएमा जरिवानाको भागिदार हुनुपर्छ ।
केही दिनअघि मात्रै मोटरले पानी तानेको अभियोगमा उपभोक्ता भीम राईलाई ५ हजार ५१ रुपैयाँ जरिवाना लगाइएको उपभोक्ता समितिका अध्यक्ष रणबहादुर थाङ्देन बताउँछन् । उनका अनुसार उपभोक्ता समितिलाई जानकारी नदिइ एउटा घरबाट अर्को घरमा पानी दिने सुशीला बिकलाई पनि कारवाहीस्वरुप ५ हजार ५१ रुपैयाँ जरिवाना गरिएको थियो ।
एक सय ६३ घरधुरी रहेको उपभोक्ता समितिमा मिटर खोल्न मनाही छ । टोलका उपभोक्ता गाग्री बोकेर अन्यत्र पानी लिन हालसम्म गएका छैनन् । संस्थानबाट आएकै पानीले पुगिरहेको सदस्य बद्री अधिकारी बताउँछन् । खानेपानी संस्थानले सुख्खायामको बेला ‘बाध्यता’ भन्दै कारबाही नगरी छाड्ने गरेको छ । संस्थानका प्रमुख शैलेन्द्रकुमार साहलाई यस बारेमा बुभ्mदा कारबाहीबारे जानकारी नै नभएको पाइयो । उनले भने, ‘यो बेलामा बाध्यता बुझेर पनि हामीले कारबाही गर्न सकिरहेका छैनौं ।’
त्यसो त संस्थानले छड्के जाँच समेत गर्ने गरेको छ । तर, हालसम्म पक्राउ परेको उदाहरण शायदै भेटिन्छ । ‘एक–दुई दिन अघि एकजनालाई हजार रुपैयाँ फाइन लगाएका थियौं’, प्रमुख साह भन्छन् । तर, तुलसीपथ खानेपानीका उपभोक्ताहरु नै खानेपानी चोरी गरेको, मोटरले तानेको वा फेयरवल समेत खोलेको थाहा भएमा सिधै समितिलाई उजुरी गर्दै कारबाहीको लागि लिएर आउने गरेका उदाहरणहरु छन् ।
सो स्थानका उपभोक्ताले २०६७ सालमा ४८ लाख आप्mनै लागतमा संस्थानबाट पाइपलाइन बिछ्याएर पानी ल्याएका थिए । र, त्यहीबेला नै उपभोक्ताहरु बीच छलफल गरी मोटरले तानेमा, आप्mनो घरबाट पाइप बिछ्याएर अर्को घरलाई दिएमा वा मिटर खोलेर पानी प्रयोग गरेमा कारबाही गर्ने निर्णय भएको अध्यक्ष थाङ्देन बताउँछन् । खानेपानी वितरणको लागि समितिले सुख्खायाम भरी चौकीदार राख्ने गरेको छ । उक्त चौकीदारलाई मात्रै पानी खोल्ने अधिकार दिइएको छ ।
तुलसीपथको लागि पानी वितरण गर्ने तीनवटा गेटभल्भ छन् । उक्त गेटभल्भ खोल्ने अधिकार चौकीदारबाहेक अन्यलाई छैन । तुलसीपथ खानेपानीमा बगरकोट, गोविन्दमार्ग, सागरपथ, पर्वतटोल, कस्तुरी मार्गका उपभोक्तालाई पानी वितरण गरिएको छ । ‘पानी सर्टेज हुँदा पनि हाम्रोमा पानी किनेर खाइरहनु पर्दैन । समय मिलाएर टोलटोलमा डिभाइड गरेर पानी वितरण गरेका छौं’, समितिका सदस्य अधिकारी थप्छन्, ‘नियम कडा बनाएका कारण सबैको धारामा पानी पुग्छ ।’
सुख्खायाममा धरानका अधिकाङ्श क्षेत्रमा ड्रेनमै पाइप खोलेर पानी थाप्ने चलन छ । जसका कारण कतिपयको घरको धारामा पानी पुग्दैन । र, पनि सम्बन्धित निकाय खानेपानी संस्थानले चासो दिने गरेको छैन ।