बेलबारी/मोरङको बाहुनी गाविस–९ राधानगरको सम्भावित पेट्रोल खानीमा चिनियाँ प्राविधिकहरुले अन्वेषण थालेका छन् । मङ्गलबार खानीको स्थलगत निरीक्षण गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले अबको तीन वर्षभित्र अन्वेषण कार्य सकिने बताए । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार नेपालका सम्भावित पेट्रोल खानीहरुको अन्वेषण गर्ने कार्यक्रम रहेको मन्त्री पाण्डेले बताए । खानीको अन्वेषणका लागि चीनबाट सातजनाको प्राविधिक टोली नेपाल आएको छ । पेट्रोलियम पदार्थको अवस्था, व्यावसायिक खानी सञ्चालन गर्न सकिने÷नसकिने लेखाजोखा गरेर सरकारले थप कार्य अघि बढाउने पाण्डेले बताए । नेपाल आएको चिनियाँ प्राविधिक टोलीले बाहुनीसहित नेपालका अन्य दशवटा खानीको अन्वेषण गर्ने पाण्डेले बताए । धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, वीरगञ्ज, मलङ्गवा, जनकपुर, राजविराज र मोरङमा गरी नेपालमा दशवटा खानी रहेको पाण्डेले बताए । त्यसलाई दशवटा ब्लकमा विभाजन गरिएको र मोरङको खानी ब्लक नं. १० मा पर्ने उनको भनाइ थियो । ब्लक नं. १० मा रहेको राधानगरको पेट्रोल खानी ३० वर्षअघि पत्ता लागेको थियो । २०४३ सालमा पञ्चायतकालीन सरकारले अमेरिका र बेलायती प्राविधिकको सहयोगमा नेपालको खानी तथा भूगर्भ अन्वेषण गर्ने क्रममा यहाँ पेट्रोलियम पदार्थको भण्डार रहेको पत्ता लागेको थियो । खानीको उत्खनन्का लागि ३७ सय मिटर जमिनमुनि पाइप भसाएर त्यहाँको तरल पदार्थको परीक्षण लागि नमूना सङ्कलन भएको थियो । नेपालमा पेट्रोलियम पदार्थ प्रशोधनका लागि महङ्गो पर्ने कारण देखाएर खानी अन्वेषण स्थगन गरिएको भन्ने जनमानसमा सम्प्रेषण गरिएको थियो । राधानगरमा पेट्रोल खानी सञ्चालनका लागि तीन बिघा तीन कठ्ठा व्यक्तिको जग्गा समेत मुआज्जा दिएर सरकारले घेराबेरा गरी राखेको छ । पञ्चायती व्यवस्था ढल्ने बेलामा शुरु गरिएको खानी सञ्चालन एकाएक बन्द भएपछि स्थानीयले विभिन्न अनुमान लगाएका छन् । कतिपयले भने नेपालमा खानी सञ्चालन भयो भने भारतको पेट्रोल खानीको भण्डारमा प्रभाव पर्ने भएकोले भारतीय दबावमै योजना रोकिएको बताउने गरेका छन् । नेपालमा पछिल्लोपटक भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थको चरम अभाव भएपछि यसको खोजी शुरु भएको बाहुनी गाविसका पूर्व अध्यक्ष रोहिणी गौतमले बताए । खानी सञ्चालनका लागि स्थानीय वासिन्दाले पहल गर्न पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दैआएका थिए । खानी अन्वेषण हुने भएपछि स्थानीय वासिन्दा खुशी भएका छन् । खानी स्थलमा आएका उद्योगमन्त्री र चिनियाँ प्राविधिक टोलीलाई एम्प्रियो क्लबको अगुवाइमा स्थानीय आदिवासी जनजातिले साँस्कृतिक कार्यक्रमसहित स्वागत गरेका थिए । परियोजना सञ्चालन गरिएको स्थलमा २ बजे आउने भनिएका मन्त्री र प्राविधिक टोलीलाई पाँच बजेसम्म कुरेर बसेका थिए । चिनियाँ टोलीले देशभरिनै अन्वेषण शुरु गरेको उद्योग मन्त्री पाण्डेले जनाएका छन् । पाण्डेले अन्वेषणपछि तीन वर्षभित्रमा अध्ययन, अन्वेषण र अनुसन्धानपछि उत्खनन्को काम शुरु हुने बताए । चिनिया सरकारको प्राविधिक टोलीले सोमबारदेखि नै वराहक्षेत्रदेखि अन्वेषण थालेको मन्त्री पाण्डेले जानकारी गराए । चिनियाँ टोलीले सुनसरीको वराहक्षेत्रदेखि बाहुनीसम्म लिङकप देखेकोले यहाँ पेट्रोलियम पदार्थको ठूलो भण्डार देखिएको भन्दै मन्त्री पाण्डेले खुशी व्यक्त गरे । चिनिया टोलीले यसको रिपोर्ट तयारी गर्दैगरेको उनको भनाइ थियो । अन्वेषणको लागि सम्पूर्ण लागत चिनियाँ सरकारले व्यहोरेको मन्त्री पाण्डेले बताए । उनले भने, ‘यो कुनै ठेक्कापट्टा होइन, चिनियाँ सरकारले सहयोग गरेको हो ।’