[caption id="attachment_2357" align="alignright" width="900"]yyy                                                                                                   फायल तस्विर[/caption]

शनिश्चरे/ स्थानीयले ठूलो उत्साहमा आफ्ना लाखौं मुल्यका जग्गा स्वास्थ्य केन्द्रका लागि दान गरेपनि सम्बन्धित सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण मोरङका निर्माणाधिन भवन अधुरो अवस्थामै छोडिएर अलपत्र परेका छन् ।
पथरीशनिश्चरे २ का बासिन्दाले ठूलो उत्साहकासाथ आफ्नो जग्गा काटेर दिए । साँधमा नमिल्नेले अन्तैको जग्गा सट्टा दिएर साँधमा जग्गा पर्नेलाई मनाए । त्यसो गरेर एकै ठाउँमा साढे १२ कठ्ठा जग्गा स्वास्थ्य चौकीका लागि जुटाए ।
‘अहिलेको मुल्याङ्कनमा हामीले झण्डै ३ करोड रुपैयाँको जग्गा दान गर्यौं तर कार्यालय भवन बनाउँदा बनाउँदै अलपत्र छोडेपछि हामी ज्यादै दुखी भएका छौं ।’– जग्गादाता मध्येका मोरङ पथरीशनिश्चरे २ का बाबुराम राईले ब्लाष्टसँग बारम्बर दुखेसो पोखिरहेका छन् ।
पथरीशनिश्चरे २ स्थित छत्तिसविघे भन्ने टोलमा पथरी स्वास्थ्य चौकीका लागि स्थानीयले जग्गा दिएर भवन निर्माणको काम थालियो । तर निर्माणको पहिलो वर्ष काम भएपनि त्यसयताका ५ वर्ष भवन अधुरो छोडेर ठेकेदार पक्ष गायव भएपछि स्थानीयको मन दुखेको छ । ‘अव त हामी एक पटक अख्तियारमा पुग्छौं, त्यसपछि पनि भएन भनें क्षतिपूर्ति सहित सरकारले हाम्रो जग्गा फिर्ता दिनुपर्छ ।’– अभियानका अगुवामध्येका राईले भन्दै आएका छन् । उनले यसको निर्माणको काम हेर्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकै कमजोरी भएको ठोकुुवा गरे ।
अर्का जग्गादाता घनश्याम गिरी भन्छन् ‘कति सरकारी कार्यालय जग्गा नपाएर बन्न सकेको छैनन्, तर हामीले यहाँ जग्गा दिँदा पनि यस्तो अलपत्र पार्नु भनेको कस्तो विडम्वना हो त ?’ राईले र सुनेहाङ सवेहाङले ३÷३ कठ्ठा, गिरीका साथै श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १÷१ कठ्ठा गरी १० कठ्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिष्ट्ेशन गरिदिएका थिए । होमबहादुर गुरुङ, छविलाल अधिकारी, मानवहादुर थापामगर, यज्ञप्रसाद ढुंगेल र टेकबहादुर गुरुङले समेत १०÷१० धुर जग्गा दिने सहमति जनाएका थिए । ‘तर भवन नबनेपछि उनीहरुसँग कवोल गरेको जग्गा पास गरिदेउ भन्नै अप्ठेरो भो ।’– भवन निर्माण अभियानका अर्का अभियन्ता गंगाराम गिरी भन्छन् ।
स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत एमके कन्ट्क्सनले १ करोड १४ लाखमा भवन निर्माणको ठेक्का लिएको हो । ०६६ माघ ८ गते व्यवस्थापन समितिले बोलाएको दलका प्रतिनिधि सहितको भेलाले तात्कालिन पञ्चायत उच्चमाविका प्राचार्य ( हालका सांसद ) चण्डीप्रसाद राईको संयोजकत्वमा जग्गा व्यवस्थापन तथा भवन रेखदेख समिति निर्माण गरेको थियो । सोही क्रममा ०६७ जेठ १९ गते भवनको शिलान्यास भएको थियो । १४ महिनामा निर्माण सक्ने ठेकेदार पक्षसँग ठेक्का सम्झौता भएको थियो ।
पथरी चोकबाट २ किलोमिटर दक्षिणको शान्त ग्रामिण क्षेत्रको शाखा बाटोमा जोडिएको जग्गामा भनव बन्न थालेपछि स्थानीयले त्यस बाटोको नाम ‘अस्पताल मार्ग’ बनाए । ग्रामिण क्षेत्रका मानिसका लागि झनै सहज हुने स्वास्थ्य निकाय बनेकोमा सवैमा उत्साह बढ्यो । तर जुन उत्साहमा सवै जुटे, भवनको काम ठीक विपरित भयो । २ तले सुविधासम्पन्न भवन २ तलासम्म त ठडिएको छ । तर त्यसको पूर्ण काम भएको छैन । यसबेला सो भवन अपराजधन्य गतिविधिको अखडाजस्तो बन्न थालेको छ । तास खेल्ने र भित्तामा अश्लिल चित्र बनाउनेहरुको चलखेलस्थल बनेको छ । भवनभित्र रुख विरुवा उम्रिएका छन् । बनाएको ठाउँमा पनि भवन भत्किन थालेको छ । भवनको नजिकै घर रहेकी तारा गुरुङ भन्छिन् ‘यो भवन क्षेत्रमा त कस्ता कस्ता मान्छे आएर के के तमासा गर्न थालिसके । हामीलाई समेत असुरक्षा बढ्न थाल्यो । यसलाई सरकारले त्यसै छोड्या हो भनें आन्दोलन नै गर्नुपर्ला भन्ने सल्लाह हुँदैछ ।’
उपस्वास्थ्य चौकीका रुपमा हालको नगरपालिका कार्यालय हाताको १० धुर जग्गामा मुस्किलले चलेको कार्यालय ०६९ पुस १९ गते ‘स्वास्थ्य चौकी’मा बढुवा भएपछि समस्यामा छ । विरामीको चापको तुलनामा कार्यालय भवनको समस्या हुँदा सेवा दिन कठिनाई भइरहेको अवस्थामा भवन नबन्नु दुखको कुरा भएको स्वास्थ्यचौकी प्रमुख मुरारी आचार्यले उल्लेख गरे । ‘मैले पटक पटक जिल्ला जनस्वास्थ्य सहरी भवन डिभिजनमा समेत कुरा राखिरेहेको छु । भवन डिभिजनले बरु ठेक्का बदर गरेर अरुलाई ठेक्का लगाउनु पर्ने स्थानीयले उठाएको आवाजपनि सम्बन्धित निकायमा पुर्याइयो तर केही प्रभाव पर्न सकेन ।’–आचार्यले वेलिविस्तार लगाए । स्वास्थ्य मन्त्रालयका सहसचिव समेतको टोली आएर भवन निर्माणको ढिलाई बारे अनुगमन गरेको थियो ।
डिभिजन कार्यालय विराटनगरका प्रमुख किशोरलाल महाजुले यसखाले ढिलाई हुनु अचम्मलाग्दो भएको भन्दै अस्पष्ट जवाफ दिने गरेका छन् । आफु डेढ वर्ष अघिबाट कार्यालय प्रमुख भएर आएदेखि यसबारेमा बुझ्दै ठेकेदार पक्षसँग पहलको प्रयास गरेपनि काम शुरु हुन नसकेको बताउँदै आएका छन् । ‘मैले पहल गरिरहेको छु, ठेकेदारले किन काम नगरेको हो म कुरै बुझ्दिन ।’– उनले भने ‘जरिवाना लगाएर काम अगाडि बढाउने पहल भइरहेको छ ।’ काम सम्पन्न भएपछि ठेक्का रकमको बढीमा १० प्रतिशत जरिवाना लगाइने उनले बताए ।

जिल्लाको डाँगीहाटको स्वास्थ्यचौकी भवनको हालत पनि पथरीकै जस्तो छ । वायरिङ सहितका फिनिसिङका काम बाँकी रहेको ५ वर्ष बढिभइसक्यो । भवन विकृतिको थलो बनेको छ । एकके कन्ट्क्सनले नै पथरी, डाँगीहाट र कटहरीको स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का लिएको हो । समय कटेको अवस्थामा कटहरीको भनें वल्तल्ल काम सकिएको भएपनि हस्तान्तरण प्रक्रिया बाँकी रहेको छ । रंजनी स्वाथ्यचौकीको पनि जरिवाना लगाएर काम सकिने अवस्थमा पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु एङ्देनले आफुहरुले भवन निर्माणको ढिलाई बारे भवन विभागलाई भनिरहेको तर निर्माणमा ढिलाई नै भइरहेको बताए । उनले जनस्वास्थ्य क्षेत्रीय कार्यालयका प्रमुख डा. महेश खनाल, भवन डिभिजन कार्यालयका प्रमुख महाजुसँग छलफल गरी जरिवाना लगाएर भएपनि सोही निर्माण कम्पनीबाट काम पुरा गराउनु पर्ने निर्णय भएको सुनाए ।  
झुर्कियामा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भएको १ वर्ष भएको र अवको १ वर्षमा त्यसको काम सक्नु पर्नेछ ।