तरहरा/सुनसरी चैत महिनाभरिमा छापेर बाँडिसक्नुपर्ने पुस्तक वैशाख सकिँदासम्म सरकारी विद्यालयहरुमा आइपुगेको छैन । विद्यालयहरुलाई थोरै–थोरै पुस्तक दिने गरिएकाले विद्यार्थीहरुबीच तँछाडमछाड हुने गरेको छ । सरकारले विद्यालयहरुमा समयमै पुस्तक पु¥याउन नसक्दा पढाइसमेत प्रभावित हुन थालेकोे छ ।
इटहरी–२४ तरहरास्थित जनसहयोग उच्च माविका सहायक प्रधानाध्यापक मोहन दाहालले पुस्तक अभावले अध्यापनमा समस्या भएको बताए । जनक शिक्षा सामग्री केन्द्रले पुस्तक पठाउन ढिलाइ गरेको कारण समस्या भएको उनको भनाइ छ । ‘पुस्तकको पूरै सेट नआउँदा पढाइमा समस्या भएको छ ।’ दाहालले भने । कक्षा ६ र ७ का पुस्तकको अझ बढी अभाव भएको दाहालको भनाइ छ ।
आँपगाछीको राष्ट्रिय माविका प्रधानाध्यापक शरणकुमार बस्नेतले कक्षा ९ र १० को ऐच्छिक विषयका पुस्तकको अभाव भएको बताउँदै कक्षा ९ का विद्यार्थीहरुले पुराना विद्यार्थीबाट मागेर काम चलाइरहेको जनाए । बस्नेतले भने, ‘कक्षा १० मा भने पढाउन समस्या भइरहेको छ ।’ बाँकी पुस्तकहरु आप्mनो विद्यालयमा आइसकेको उनले जनाए । अहिले सरकारी विद्यालयहरुमा कक्षा ६ को विज्ञान र कक्षा ७ का सामाजिक, नैतिक र पेशा बाँकी रहेको इटहरीको जनता उच्च माविका शाखा प्रमुख वासुदेव शाहले बताए । पुस्तक नहुँदा पढाउन समस्या भएको उनको भनाइ छ ।
इटहरीका स्रोत व्यक्ति जनक बस्नेतले पनि पुस्तकको केही अभाव भएको बताए । सबै विद्यालयले पुस्तकका लागि स्टेशनरी पसलमा रकम जम्मा गरिसकेका भए पनि पुस्तक पसलहरुले पुस्तक दिन नसकेको उनको भनाइ छ । पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको बस्नेतले बताए । पुस्तकहरु तत्काल उपलब्ध गराउन पहल गरिरहेको भए पनि अहिलेसम्म पुस्तकहरु आउन नसकेको उनको भनाइ छ । ‘ऐच्छिक विषयको डाटामा पनि समस्या भएका कारण आउन नसकेको होला ।’ उनले भने । अन्य कक्षाका विद्यार्थीहरुले पनि सबै पुस्तक पाउन नसकेको स्रोत व्यक्ति बस्नेतले जनाए ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले कक्षा ६ र ७ को पुस्तकको अभाव नै भएको बताए । रकम निकासा गरेर दिइसकेको भए पनि पुस्तक नआइपुगेको उनको भनाइ छ ।
कक्षा ९ र १० का पनि केही विषयका पुस्तक अभाव भएको बताउँदै उनले यस विषयमा आपूmले माथिल्लो निकायलाई जानकारी गराइसकेको बताए । पुस्तकहरु चाँडै विद्यालयसम्म पुग्ने वातावरण मिलाउन आपूmले पहल गरिरहेको जिशिअ सुवेदीले बताए ।
केन्द्रका पूर्वाञ्चल क्षेत्रीय प्रमुख राजेन्द्र तिवारीले पुस्तक अभावका कारण केही समस्या भएको स्वीकार गरे । यसका लागि आपूmहरुले माथिल्लो निकायमा पहल गरिरहेको भए पनि केही पुस्तकको अभाव भएका कारण समस्या भएको प्रमुख तिवारीको भनाइ छ । ‘माथिबाट किताब आएको छैन ।’ उनले भने । तर केही दिनयता थोरै–थोरै भए पनि विद्यालयहरुलाई पुस्तक बाँडिरहेको उनले बताए । ‘सबै किताब पु¥याउन अभैm केही दिन लाग्छ ।’ उनको भनाइ छ ।