धरान /यात्रुको विषयलाई लिएर बिहीबार बिहान सिटी सफारी र ट्याम्पो चालकबीच विवाद हुँदा भानुचौक केहीछिन  तनावग्रस्त बन्यो । सिटी सफारीचालक सुरज राईले ट्याम्पो चालकमाथि हातपाई गरेपछि स्थिति बिग्रिएको हो । जनसेवा ट्याम्पो स्टेण्डबाट सिटीले यात्रु उठादिएपछि विवाद शुरु भएको थियो ।ct उक्त विवादमा सफारीचालकले हातपात गर्दा टेम्पोचालक राजकुमार घिमिरे सामान्य घाइते बनेका छन् । सिटीका चालक राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । को. १ ख ३३८ को साटोमा नयाँ कम्पनीको टेम्पोका चालक घिमिरेमाथि हातपात भएको थियो । घटनापछि टेम्पोका चारवटा सङ्गठनले धरान उपमहानगरपालिकाको मुख्य गेटमा घेराउ गरेका थिए । कोशी ट्याम्पो सिण्डिकेट, ट्याम्पो व्यवसायी सङ्घ धरान, ट्याम्पो व्यवसायी समिति धरान, जनसेवा सिण्डिकेट यातायातका चालकले नगरपालिका घेराउ गरेका थिए । उनीहरुले धरान उपमहानगरले सहमति कार्यान्वयन नगराएको भन्दै तत्काल कार्यान्वयन गराउन माग गरेका थिए । करीब ६ महिनाअघि धरान उपमहानगरमा टेम्पो व्यवसायी, सिटी सफारी र धरान उपमहानगरबीच आ–आप्mनो स्टेण्डबाट मात्रै यात्रु उठाउन पाउने भन्ने सहमति बनेको थियो । उक्त सहमति कार्यान्वयन गराउँदै दर्ता प्रक्रियामा लैजानको लागि दबाव सिर्जना गरिएको कोशी टेम्पोका अध्यक्ष हिमाल श्रेष्ठले बताए । ‘प्रक्रियामा लानु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने । घेराउपछि धरान उपमहानगरमा छलफल भएको थियो । आउँदा दिनमा समस्या नहोस् भनेर टेम्पो सङ्घले माग राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर मेघराज केसीले बताए । उनका अनुसार चारवटै टेम्पो सङ्घले धरान उपमहानगरलाई प्रतिवेदन दिनेसम्मको छलफल भएको छ । धरान उपमहानगरका कार्यकारी अधिकृत टीकादत्त राईले विगतमा सहमतिहरु कार्यान्वयन नभएको भन्दै घेराउ गरेको बताए । उनले उपमहानगरले मात्रै गर्नसक्ने आधारहरु नभएकाले दर्ता प्रक्रिया नभएसम्म आचारण बनाउने र पालना गर्ने कुराहरुको विषयमा छलफल भएको बताए । टेम्पो व्यवसायीहरुले सहमति कार्यान्वयनको लागि निवेदन दिनेसम्मको छलफल भएको बताए ।