एमालेसँग ‘अन्तिम’ छलफल गर्ने एमाओवादी निर्णय,
काठमाण्डौ / एमाओवादीले आफूले उठाउँदै आएका विषयमा एमालेसँग ‘अन्तिम’ छलफल गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले द्वन्द्वकालीन मुद्धा, पुनर्निर्माणलगायत पार्टीले उठाएकाका विषयमा एमालेसँग ‘अन्तिम’ छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता दीनानाथ शर्माले बुधबार नै एमालेसँग छलफल गर्ने र बिहीबार बस्ने बैठकले निर्णय लिने बताए । ‘सरकार छाड्ने निर्णय गरेका छैनौं,’ उनले भने, ‘भोलि बस्ने बैठकले टुंगो लाग्छ ।’ शर्माले जनताले सरकार भएको अनुभूति गर्न नपाएको उल्लेख गर्दै त्यस विषयमा पटक पटक प्रधानमन्त्रीको ध्यानकर्षण गराइसकेको जानकारी दिए ।
बैठकलगत्तै अध्यक्ष दाहालसहितका पदाधिकारी बालुवाटार गएका थिए । एमाओवादी नेताहरु बालुवाटार पुग्दा सत्तारुढ पार्टीका नेताहरुको बैठक जारी थियो । एमाओवादीले वर्तमान सरकार परिवर्तनको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरुको धारणा बुझ्न बैठक बोलाएका हुन् । वालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनका विषयमा एकीकृत माओवादीले आकस्मिक रुपमा गरेको निर्णयका विषयमा छलफल भएको प्रधानमन्त्रिका प्रेस संयोजक चेतन अधिकारीले ब्लाष्ट अनलाईनलाई बताए । यता सत्ता साझेदार राप्रपा नेपालले भने ओली नेतृत्वको वर्तमान सरकारको प्रतिरक्षा गर्ने जनाएको छ ।