धनबहादुर पुरीdera
/ विभिन्न ठाउँमा जघन्य अपराध गरेका व्यक्ति इटहरीमा लुकेर बसोबास गर्नसक्ने भन्दै प्रहरीले यहाँ डेरामा बस्दैआएकाहरुको फोटोसहितको अभिलेख राख्न शुरु गरेको छ । विभिन्न ठाउँमा अपराध गरेका अपराधी नाम नै परिवर्तन गरी आनन्दसँग बस्दैआएको भन्दै प्रहरीले डेरा बस्नेहरुको फोटोसहितको अभिलेख खोज्न थालेको हो ।
टोलटोलमा डेरा गरी बस्नेहरुको फोटो, नागरिकता तथा परिवारका सदस्यको अभिलेख तयार गर्न अहिले इटहरी प्रहरीका कर्मचारी लागिपरेका छन् । इटहरी–२ स्थित शान्तिनगर टोलमा भाडामा बस्ने सबैको अभिलेख राख्ने कार्य सम्पन्न भएको इलाका प्रहरी कार्यालयका डिएसपी ओम अधिकारीले बताए । उनले भने, ‘हामीले लगभग ५ सय परिवारको अभिलेख र तस्विर लिइसकेका छौं ।’ अन्यत्र गएर अपराध नगरुन् भनेर उनीहरुको अभिलेख तयार गरेको डिएसपी अधिकारीले बताए ।
यस्तै मङ्गलबार प्रहरीले वडा नं. ५ स्थित जनता बस्तीबाट अभिलेखको काम शुरु गरेको जनाएको छ । पहिलो चरणमा जनता बस्तीका २४ वटा टोल विकास समितिका पदाधिकारीसँग छलफल गरी अपराध नियन्त्रणमा लाग्न अनुरोध गरेको छ । डिएसपी अधिकारीले जनता बस्ती समेत अपराधीको लुक्ने ठाउँ बन्दै गएको जनाउँदै त्यस्ता गतिविधि गर्नेहरुलाई बास नदिन सुझाव दिए । अपराध गरेर भागेपनि तस्विरको कारण पक्राउ गर्न सजिलो हुने भएकोले तस्विरसहितको अभिलेख राख्न शुरु गरेको उनले बताए ।
जनता बस्तीमा लामो समययता देखिएको विकृति तथा आपराधिक घटनालाई नियन्त्रण गर्न प्रहरी लागिपरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजन कार्कीले बताए । उनले प्रत्येक टोलका सामाजिक व्यक्तिसँग छलफल गरेर अपराध नियन्त्रणमा लाग्ने जनाए । इटहरी क्षेत्रमा जनता बस्तीलाई हेर्ने सोच परिवर्तन गर्न स्थानीय तबरबाट नै सकारात्मक कामको शुरुवात गदै जानुपर्ने इन्स्पेक्टर कार्कीको भनाइ थियो । इटहरीमा जनता बस्तीको सामाजिक छवि त्यति राम्रो नभएको भन्दै राजनीतिक तथा सामाजिक अगुवाले पनि सुझाव दिएका थिए ।
जनता बस्तीमा अन्य क्षेत्रभन्दा बढी आपराधिक क्रियाकलाप हुने गरेको ज्योति माविका प्रधानाध्यापक भैरव सापकोटाले बताए । साथै जनता बस्तीमा बाहिरबाट आएर बसेका भाडावालको पनि अभिलेख राख्नुपर्ने उनको सुझाव थियो ।
जनता बस्तीको नाम परिवर्तन गरी नमूना टोल बनाउने बहस समेत मङ्गलबारबाट शुरु भएको छ । त्यहाँका स्थानीय अगुवाले समेत नाम परिवर्तन गरेर बस्तीलाई नमूना बनाउनु पर्ने बताएका थिए ।तस्विर गुगलबाट