धरान/ तमोर नदीको ढुङ्गामा चिप्लिएपछि नदीले बगाउँदा मङ्गलबार धरान–७ की ५६ वर्षीया अञ्जु ताम्राकारको ज्यान गएको छ ।
छोराको ग्रहशान्तिका लागि ब्राह्मण विधिबाट पूजापाठ सकेर खाना खाइसकेपछि हात धुने क्रममा खुट्टा चिप्लिएर पानीमा पर्दा उनलाई नदीले बगाएको थियो । बिहान साढे ११ बजेतिर ताम्राकार तमोरमा खसेकी थिइन् । नदीमा परेको ठाउँबाट झण्डै डेढ किलोमिटर तलबाट सशस्त्र प्रहरी बलले उनलाई निकालेको थियो । तत्कालै उपचारको लागि ल्याउने क्रममा बाटोमै निधन भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
अन्धशुक्र शुरु भएकोले घरमा ग्रहशान्ति गर्न नहुने भनेपछि छोरा जनमतको ग्रहशान्तिको लागि तमोर गएको मृतकका पति अशोक ताम्राकारले ब्लाष्टलाई बताए । श्रीमती नदीमा परेपछि उनलाई बचाउनको लागि आपूm र छोरा नै खोलामा हाम्फाले पनि भेट्टाउन नसकेको उनले बताए । पूजा सकेर खाना खाइसकेपछि हात धुनको लागि जाँदा ढुङ्गामा खुट्टा चिप्लिएर अञ्जु नदीमा खसेको पण्डित हिरा अधिकारीले ब्लाष्टलाई बताए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्दा शरीरको ढुकढुकीसमेत नभेटिएको चिकित्सकहरुले बताए । मृतक ताम्राकारलाई पोष्टमार्टमको लागि प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।
जनमतको यही मे १० तारिखदेखि सीएको परीक्षा थियो । त्यही परीक्षा राम्रो होस् भन्नको लागि ग्रहशान्ति गर्न अशोक, उनकी पत्नी अञ्जु, छोरा जनमत र पण्डित गरी चारजना मूलघाट पुगेका थिए ।