उदयपुर/ पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनमा उदयपुरको कटारी नगरपालिका लागि परेको छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको विकासका निम्ति बजेट विनियोजन गरेर लागि परेको हो ।

गत आर्थिक वर्ष यस चालु आवमा पालिकाले ‘पर्यटन’ शीर्षकमा करिब ३ करोड बजेट विनियोजन गरेर पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धनमा पालिका लागि परेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउन लागेकाले पर्यटन वर्षलाई सफल बनाउनका लागि पालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको तत्काल संरक्षण तथा प्रवद्र्धन गर्ने मेयर श्रेष्ठले बताए ।

वडा न. ५ को ओझेलमा परेको गैँडा आहाल, ११ न. वडाको बेतेनी भञ्ज्याङमा भ्युटवर निर्माण, ३ न. वडाको महादेव गुफा, भूगोल पार्क, बेलस्रोतमा ताल निर्माणलगायतका पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन पालिका लागि परेको मेयर श्रेष्ठले बताए । करिब २५–३० वर्षदेखि ओझेलमा परेको प्रचूर पर्यटकीय सम्भावना बोकेको गैँडा आहालको विशेष संरक्षण तथा प्रवद्र्धन गर्ने मेयर श्रेष्ठले बताए । मेयर श्रेष्ठले भने ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमबाटै आहालको संरक्षण तथा व्यावस्थापन गरी पर्यटकीय क्षेत्रको तत्काल विकास गर्ने छौँ ।’ आहालको विस्तृत परियोजना (डिपिआर) नै तयार भइसकेकाले डिपिआर अनुसार नै काम शुरु हुने उनले बताए ।

आहालको नाम नै काफी भएकाले यसको विकासमा पालिका लागि परेको छ । पहिला आहालमा गैँडाहरू खेल्ने भएकाले आहालको नाम नै गैँडा रहन गएको स्थानीयबासीले जनाएका छन् । बाह्रैमास पानी नसुक्ने भएकाले आहाल क्षेत्रमा विभिन्न वन्यजन्तु र चराचुरुङ्गी आउने गरेका छन् । आहालको संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने मेयर श्रेष्ठले बताए ।

प्राकृति सौन्दर्यले भरिपूर्ण रहेको बेतेनी भञ्ज्याङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब ५ करोड लगानीमा करिब ४० फिट अग्लो भ्यू टावर निर्माण गर्न डिपिआर नै तयार भइसकेको मेयर श्रेष्ठले बताए । उक्त भ्यू टावरबाट दक्षिणमा सिराहाको गोल बजार, लहान, सदरमुकाम सिराहालगायतका विभिन्न तराईका समथर फाँट र उत्तरमा सर्वोच्च शिखर सगरमाथासहित अन्य अग्ला हिमाल शृङ्खला खाली आँखाले प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने उनले बताए ।

त्यस्तै पश्चिममा सिन्धुली गढी आसपासका अग्ला पहाड र पूर्वमा जिल्लाका केही अग्ला पहाड र खोटाङको अग्ला डाँडा अवलोकन गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तन सम्बन्धी जनचेतनाको लागि जिल्लाकै पुरानो बजार तथा सगरमाथाको प्रवेशद्वार भनेर चिनिएको कटारी बजारको बिच भागमा भूगोल पार्क निर्माण भइसकेको मेयर श्रेष्ठले बताए ।

उक्त पर्यटकीय स्थलहरूको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदेश र केन्द्रीय सरकार समक्ष कुरा राखिसकेको पालिकाले जनाएको छ । बेलस्रोतमा निर्माण गरेको ताल बाढीले केही असर गरेको छ । तत्काल तालको मर्मत गर्ने मेयर श्रेष्ठले बताए । यस्ता पर्यटकीय स्थलको प्रचूर सम्भावना बोकेका प्राकृतिक सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने हो भने राष्ट्रले मुहार फेर्न धेरै समय लाग्दैन ।