काँकडभिट्टा । झापाको धुलाबारीमा रहेको मेची आम्दा अस्पतालमा चिकित्सकको लापरवाहीका कारण एक बालकको मृत्यु भएको परिवारले दावी गरेको छ ।

गोपालको मृत्यु भएपछि परिवार तथा स्थानीयले सोमबार अस्पताल घेराउ गरे । चिकित्सकको असावधानीले बालकको मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले अस्पताल परिसरमा शव राखेर नारावाजी गरेका थिए ।
सामान्य वान्ता भएर उपचारका लागि अस्पताल ल्याइएका मेचीनगर–९ का १० वर्षीय गोपाल रिजालको चिकित्सकले विरामीको अवस्था बुझ्न नसक्दा सोमबार मृत्यु पारिवारले दाबि गरेका छन ।  उपचारमा संलग्न डाक्टर चरम लारपरवाहीका कारण बालकको मृत्यु भएको मृतकका बुवा नकुल रिजालले बताए ।

नानीलाई अस्पतालमा औषधि र सुई बढी नै दिएका थिए घटनाक्रम सुनाउँदै उनले भने नानीको अवस्था सामान्य थियो, तर, धेरैवटा सुई लगाएपछि नानी अचानक बेहोस थियो ।
उनले उपचार गर्न नसक्दा अन्यत्र पठाउनुको सट्टा अस्पतालमा राखेर उपचार गराउँदा छोराको मृत्यु भएको बताए ।
आइतबार बिहान अस्पताल भर्ना गरिएका गोपालको दिउँसोसम्म स्वास्थ्यमा सुधार आए पनि राती करिब २ बजेतिर अचानक स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टरलाई खबर गर्दा चिसोको कारण भन्दै पंखा बन्द गर्न आग्रह गरेका परिवाले बताए ।
डाक्टर पोषणरमण त्रिपाठी, युवराज रोय र दिपक साह बालकको उपचारमा संलग्न थिए । उपचारमा संलग्नमध्येका डाक्टर त्रिपाठीले आफू उपचारमा संंलग्न रहुञ्जेलसम्म बालकको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका थिए ।
पोष्टमार्टम रिपोर्ट नआएसम्म घटना बारे केही भन्ने अवस्थामा आफू नरहेको उनले बताए ।
‘बिरामी बालकले उपचारका क्रममा फिँज काढेर हात बाँधेपनि डाक्टर रोयले वास्ता गरेनन्’ मृतकका बुवा नकुलले भने– ‘त्यतिबेलासम्म छोराको मृत्यु भइसकेको रहेछ, त्यसपछि आइसियुमा राख्नुपर्छ भनी विर्तासिटी अस्पताल लैजानु भने ।’
आक्रोशित स्थानीयको भीँड नियन्त्रण गर्न अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा आउन नसकेपछि पीडित पक्षलाई न्याय दिलाउन मेची उद्योग वाणिज्य संघमा बसेको सर्वपक्षीय बैठकले उपचारमा संलग्न डाक्टर तत्काल निलम्बन गरी कार्वाही प्रक्रिया अगाडी बढाउन पहल गर्ने निर्णय भएको छ ।
भेलाले पीडित परिवारलाई तत्काल किरीया खर्च बापत ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप राहत प्रदान गर्न सहयोग जुटाउन पहल गर्ने सहमति भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष तथा छानवीन समितिका संयोजक ऋषिराज तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार बालकको उपचारमा प्रयोग गरिएको औषधि र सुईका बारेमा अस्पताल प्रशासनसंग बुझ्ने निर्णय भएको छ । भेलामा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्का, १० का वडा अध्यक्ष सुदय पनेरु, राजनीतिक दलका तर्फबाट प्रकाश भण्डारी, पीडित परिवारको तर्फबाट चन्द्रमणि पौडेल, उमेश आचार्यलगायतको उपस्थिति थियो ।
छानविन समितिले अस्पतालको कमजोरी पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्ने बताइएको छ ।
मेचीनगर ९ खुट्टिडाँगी निवासी बालक स्थानीय पारिजात पब्लिक स्कूलको कक्षा ३ मा अध्ययनरत् थिए । स्कूलका प्रिन्सिपल विनोद प्रधानले बालक गोपाल पढाईमा तेज र अनुशासित रहेका बताए ।
उनले विद्यालयले एउटा असल विद्यार्थी गुमाउनु परेको बताए । विद्यालयले सोमबार उनको मृत्युमा शोक विदा समेत गरेको छ । मृतक बालकको सोमबार धुलाबारीस्थित राम घाटमा दाहसंस्कार गरिएको छ ।