इनरुवा / सुनसरीमा अतियारधारीहरु बढेका छन् । प्रहरीले उनीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । शुक्रबार धरान प्रहरीले धरान–१५ स्थित तीनकुनेबाट एक जना पक्राउ गरेको थियो । फेरी आज  सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ गरेको छ । शनिबार दिउसो सशस्त्र प्रहरी बल हरिपुर र श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल हरिपुरका प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनकै नेतृत्वको टोलीले भारत बिहार भिमनगर पन्चायत ४ बस्ने रन्जितकुमार मुखियालाई पक्राउ गरेको छ । यस्तै शनिबारनै चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलीले थप दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँचको क्रममा कोशी गाउँपालीका ६ स्थित धत्ता टोलबाट १ थान कटुवा पेस्तोलसहित सुपौल भवानीपुर ७ बस्ने वर्ष १८ का विवेक यादव र मोटरसाइकल चालक सुपौल सीतापुर बस्ने १७ वर्षका सुमित कुमार गोहितलाई पक्राउ गरिएको छ । पक्राउ परेका ३ जनालाई आवश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय इनरुवामा शनिवार नै बुझाएको छ ।