विराटनगर (ब्लाष्ट) जिल्ला कारागार मोरङको ‘बी’ ब्लकमा लामो समयदेखि ‘समानान्तर सत्ता’ सञ्चालन गरी अराजकता मच्चाउँदै आएका १९ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरिएको छ ।
कारागारभित्र आतङ्क सिर्जना गरेको र प्रशासनलाई समेत चुनौती दिँदै आएका उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पुर्याइएको हो । स्थानान्तरणको सूचीमा ‘बी’ ब्लकका चौकीदार विशाल निरौलासहित भारतीय नागरिक चञ्चल बर्मा, प्रेम कटवाल, मनिषकुमार विक, रविन कामत, राजेश कामत र धर्मेन्द्र राई रहेका छन् । त्यसैगरी तापत पासवान, कार्तिक कामत, कुनाल सिंह, मो. सदाम, अजय पासवान, प्रशान्त भण्डारी, रामकुमार श्रेष्ठ, अनिल भट्टराई, अरवाज शेख, रामकुमार चौधरी, अजय मेहता र नजामुद्दीन मियाँलाई पनि कारागारबाट निकालिएको छ ।
प्रशासनका अनुसार ५ सय ६५ जना कैदीबन्दी रहेको ‘बी’ ब्लकमा चञ्चल बर्माको समूहले आफूखुसी नियम चलाउँदै आएको थियो । मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्षको कैद सजाय काटिरहेका भारतीय नागरिक बर्माले कारागारको च्यानल गेटसमेत आफ्नै नियन्त्रणमा राखेका थिए । उनलाई जबर्जस्ती करणी मुद्दाका मनिष विश्वकर्मा, लागूऔषध मुद्दाका कुनाल सिंह र खून–डाँका मुद्दाका कार्तिक कामतले समूह बनाएर साथ दिँदै आएका थिए । यो समूहले १०–१२ जनाको अर्को उप–समूह बनाएर सामान्य कैदीबन्दीलाई मानसिक तथा शारीरिक यातना दिने, सरकारी भत्ता र आम्दानी रकम कब्जा गर्ने तथा प्रशासनविरुद्ध गतिविधि गर्ने गरेको सुरक्षा अधिकारीहरूको दाबी छ ।
आन्तरिक विद्रोह र प्रहरी हस्तक्षेप
लामो समयदेखि चञ्चल बर्मा र चौकीदार विशाल निरौलाको समूहबाट प्रताडित अन्य कैदीबन्दीले शुक्रबार अपराह्न उनीहरूविरुद्ध विद्रोह गरेका थिए । आन्तरिक कुटाकुट भएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन सुरक्षाकर्मीले हस्तक्षेप गरी यो समूहलाई बाहिर निकालेको हो । कारागार स्रोतका अनुसार पीडित कैदीबन्दीहरूले नै उनीहरूलाई कुटपिट गरी सुरक्षाकर्मीको जिम्मा लगाएका थिए ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कबित कटुवालले कारागारभित्र अराजकता मच्चाउने समूहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए । “कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीहरू आपसमा झगडा गर्न थालेपछि प्रशासनले हस्तक्षेप गरेर १९ जनालाई नियन्त्रणमा लिएको छ” एसपी कटुवालले भने, “कारागारभित्र दुई समूहका कारण लामो समयदेखि अशान्ति थियो । यस्ता अराजक तत्वलाई अब मोरङमा राखिने छैन, उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।”
सुरक्षा संवेदनशीलताका कारण स्थानान्तरण
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै उनीहरूलाई मोरङ कारागारमा पुनः नफर्काउने जानकारी दिए । “अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ” कोइरालाले भने, “जेलर आएपछि छलफल गरेर उनीहरूलाई देशका कुन–कुन कारागारमा पठाउने भन्ने अन्तिम निर्णय गरी प्रक्रिया अगाडि बढाउँछौँ ।”
प्रशासनले यसअघि पनि यो समूहलाई स्थानान्तरण गर्ने प्रयास गरेको थियो । तर, कैदीबन्दीले भित्रैबाट ताला लगाएर प्रशासनलाई प्रवेशमा रोक लगाएका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । १९ जनालाई बाहिर निकालेपछि अहिले मोरङ कारागारको अवस्था शान्त रहेको प्रशासनले जनाएको छ ।