विजयपुर । दार्चुलाको चौलानी (चमेलिया) नदी पहिरोका कारण आंशिक रूपमा थुनिएपछि जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अपिहिमाल गाउँपालिका–१, भटरस्थित चौलानी नदीमा पहिरो खसेपछि नदीको बहाव आंशिक रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सूचनामा पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ । नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि नदीको तटीय क्षेत्रमा रहेका नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले नदीको बहावमा कुनै असामान्य परिवर्तन देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान तथा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।

jpg