विजयपुर । धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’ को सेवा निरन्तर सञ्चालन गर्न अनुरोध गरेको छ।
सोमबार उपमहानगरका कार्यवाहक नगर प्रमुख अइन्द्र त्रिविक्रम बेघाले स्वास्थ्य बीमा बोर्ड, काठमाडौंलाई पत्र लेख्दै धरान क्षेत्रका नागरिकले बीपीबाट प्राप्त गर्दै आएको प्रथम सेवा बिन्दुको सेवा कायम राख्न अनुरोध गरेका हुन् । पत्रमा नगरले आफ्नै नगर अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको जनाउँदै हालसम्म उपयुक्त स्थान निर्धारण हुन नसकेको कारण तत्काल सेवा सञ्चालनमा ल्याउन समस्या भएको स्पष्ट पारिएको छ । नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन २०८३ वैशाख १ गतेदेखि साविककै व्यवस्था अनुसार बीपीलाई प्रथम सेवा बिन्दुका रूपमा सेवा निरन्तर प्रदान गर्न आग्रह गरिएको छ । उपमहानगरले स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक समन्वय गर्नसमेत अनुरोध गरेको छ ।