विजयपुर । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा विराटनगरमा प्रभातफेरीसहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने सन्देश प्रवाह गरिएको थियो ।

प्रभातफेरी कार्यक्रममा सहभागीहरूले विद्युत प्रयोगमा सावधानी अपनाउन र दुर्घटना न्यूनीकरणका उपायबारे जनचेतना फैलाएका थिए । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इलेक्ट्रिकल इन्जिनियर सुवेध ठाकुरले विद्युतीय जोखिम न्यूनीकरणका लागि उपभोक्तादेखि प्राविधिकसम्म सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले भने, “सामान्य लापरबाहीले पनि ठूला दुर्घटना निम्त्याउन सक्छ, त्यसैले सुरक्षित प्रयोगतर्फ सबैको ध्यान जान जरुरी छ ।”

सहायक प्रबन्धक माधवप्रसाद नगरकोटीले विद्युतीय सुरक्षासम्बन्धी प्रस्तुति दिँदै उपकरण प्रयोग तथा मर्मतका क्रममा सुरक्षात्मक सामग्रीको अनिवार्य प्रयोग गर्न प्राविधिकलाई सचेत गराए । साथै, उपभोक्ताले पनि विद्युतीय सामग्रीको सही तरिका अपनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रमको समापन गर्दै केन्द्र प्रमुख राम उदगार शाहले सुरक्षित कार्यसंस्कृति विकासका लागि दक्ष जनशक्तिको प्रयोग अपरिहार्य रहेको बताए। उनले विद्युत सेवामा संलग्न कर्मचारी तथा उपभोक्ता दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए। विद्युतीय दुर्घटना न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको छ ।