धरान । धरान गल्फ कोर्षमा यही शनिबार ‘ग्यालेक्सी काठमाडौँ एमेच्योर गल्फ टुर्नामेन्ट २०२६’ हुने भएको छ ।
स्ट्रोक प्लेका आधारमा हुने प्रतियोगितामा पूर्वका करिब ६० एमेच्योर (सौखिन) खेलाडीहरू सहभागी हुने आयोजक धरान गल्फ क्लबले जनाएको छ । अध्यक्ष हरिबहादुर राईका अनुसार जुनियर र सिनियर एमेच्योर गल्फरहरूबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताका लागि काठमाडौँ बस्दै आएका धरानवासी फडिन्द्र लिम्बूले प्रायोजन गरेका हुन् । १८ होलमा खेलाइने प्रतियोगितामा विजेताले ३५ हजार रुपैयाँ बराबरको गल्फ सामग्री राख्ने ब्याग प्राप्त गर्नेछन् ।
यस्तै ग्रस विजेताले पनि सोही मूल्य बराबरको ब्याग प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगितामा सिनियर विजेता, जुनियर विजेता, महिला विजेतालगायतलाई पुरस्कृत गरिने भएको छ । यस्तै व्यक्तिगततर्फ लङ्गेस्ट ड्राइभ, नियरेस्ट टु दी पिन र मोस्ट बर्डिज प्रदान गरिने भएको छ ।
गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राईले पछिल्लो समय कोर्षमा प्रतियोगिताहरू भइरहेको हुनाले खेलाडीहरू फर्ममै रहेको हुनसक्ने बताए । “प्रतियोगिताहरू भइरहेका छन्, खेलाडीहरू फर्ममै छन् होला” उनले भने, “प्रायोजकलाई धन्यवाद दिन चाहन्छु । यस्ता कार्यक्रमहरू भइरहेमा खेलाडीहरूलाई सहज हुनेछ ।”































