धरान । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हर्कराज राईले सत्य र अन्यायविरुद्ध आवाज उठाइरहने बताएका छन् । 

मतदाताहरूलाई आभार व्यक्त गर्न आयोजित सभालाई सम्बोधन गर्दै सोमबार उनले भने, “म यो स्थानमा पुग्नुको कारण सत्य र साँचो कुरा बोलेर हो ।” उनले जनतालाई सत्य र साँचो कुरामा प्रश्न उठाउन आग्रह गरे । उनले भने, “यदि म डराएर नबोली बसेको भए आज यो ठाउँमा पुग्दिनथेँ ।”

उनले आफू प्रधानमन्त्रीको उम्मेदवारको कुरा चुनावी बहसका लागि मात्रै भएको बताए । उनले भने, “चुनावमा मतदाताको मनोबल बढाउन वा प्रतिस्पर्धीलाई कमजोर बनाउन प्रायः उठाइने गरिन्छ । मैले पनि सामान्य रणनीति अपनाएको हो ।” उनले आफूले गरिब, किसान तथा सुकुम्बासीका मुद्दा जोडतोडका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे । उनले देश बेच्ने र भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

चुनावका क्रममा आफूलाई हराउन धेरै प्रयास भएको उल्लेख गर्दै साम्पाङले भने, “हामी दह्रो खुट्टा टेकेर चुनाव लड्यौं र जनताको विश्वास जित्यौँ ।”