देशको राजनीतिक यात्रामा कहिलेकाहीँ केही क्षणहरु केवल नियमित घटनाक्रम हुँदैनन्, ती इतिहासका मोड पनि बन्छन् । यसपटक झापाबाट देशले फेरि प्रधानमन्त्री पाउने भएको छ । तर यो केवल एक जिल्लाबाट उठेको नेतृत्वको कथा मात्र होइन, यो जनमतको नयाँ सङ्केत पनि हो। यसपल्टको जनमत सामान्य राजनीतिक फेरबदलको परिणामजस्तो देखिए पनि यसको भित्री अर्थ फरक छ—देशले युग परिवर्तनको अपेक्षासहित दिएको जनादेश हो । कहीँ कतैबाट यो जनादेशको अवमूल्यन भयो भने फेरि नागरिकले ब्यालेटमा यसरी नै विद्रोह गर्नेछन् । निश्चय नै नेपालको राजनीति लामो समयदेखि अस्थिरता, अविश्वास र दोहोरिने वाचा–प्रतिवाचाको चक्रमा अल्झिएको छ । चुनावपछिका सरकारहरु बने, ढले र फेरि बने । तर जनताको जीवनमा अपेक्षित परिवर्तन भने धेरै ठाउँमा अझै देखिएको छैन । यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आएको पछिल्लो जनमतलाई नागरिकले सामान्य सत्ता परिवर्तनका रुपमा मात्र होइन, राजनीतिक संस्कृतिमा सुधारको आशा र भरोसा पनि उत्तिकै गरेका छन् । 

झापाले विगतमा पनि देशलाई प्रभावशाली नेतृत्व दिएको इतिहास बोकेको जिल्ला हो । राजनीतिक आन्दोलन, वैचारिक बहस र नेतृत्व निर्माणको सन्दर्भमा यो भूगोलले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले फेरि त्यही भूगोलबाट प्रधानमन्त्री बन्ने परिस्थिति सिर्जना हुँदा स्वभाविक रुपमा नागरिकको अपेक्षा पनि बढेको छ । यसपटकको अपेक्षा केवल सरकार बन्ने वा नेतृत्व बदलिनेमा सीमित छैन, राजनीतिक कार्यशैली नै परिवर्तन हुने विश्वाससँग जोडिएको छ । जनताले परिवर्तनको आशामा दिएको मत अब कार्यान्वयनको चरणमा पुगेको छ । चुनावी नारामा व्यक्त भएका आशा र प्रतिबद्धताहरु व्यवहारमा रुपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने परीक्षा अब सुरू भएको छ । जनमतले अवसर दिएको छ, तर त्यो अवसरलाई परिणाममा रुपान्तरण गर्नु नेतृत्वको जिम्मेवारी हो । यदि नयाँ नेतृत्वले पुरानै शैलीमा शासन सञ्चालन ग¥यो भने जनतामा फेरि निराशा थपिन सक्छ । २०६४ सालमा यसरी नै विश्वास गरेर नेकपा माओवादीलाई जनताले ठूलो पार्टी बनाएका थिए । तर अपेक्षाकृत काम गर्न नसकेपछि फागुन २१ को निर्वाचनमा माओवादीसहित २२ दल मिल्दा पनि प्रत्यक्षमा ७ सिटमा सीमित जनताले बनाइदिएका छन् । यतिबेला सबैको अपेक्षा छ, यो इतिहास नदोहोरियोस् ।

अब आगामी नेतृत्वले सबैभन्दा पहिले विश्वास पुनःस्थापित गर्ने काम गर्नुपर्ने देखिन्छ । सुशासन, पारदर्शिता, आर्थिक सुधार र रोजगारी सिर्जना जस्ता विषयहरुलाई प्राथमिकतामा राख्दै सरकार सञ्चालन गर्न सकियो भने मात्र परिवर्तनको आशा वास्तविकतामा बदलिन सक्छ । अन्यथा, जनमतले देखाएको आशा पनि विगतका धेरै अधुरा वाचाजस्तै इतिहासको पानामा सीमित हुनसक्छ । यो कुरालाई रास्वपाले हेक्का राख्नु पर्दछ । झापाबाट उठेको यो नेतृत्व केवल एउटा जिल्लाको गौरव मात्र होइन, राष्ट्रिय जिम्मेवारीको प्रतीक पनि हो । देशले बदलेको भोट अब परिणामको प्रतीक्षामा छ । यही जनादेशलाई सही दिशामा कार्यान्वयन गर्नसके मात्र यो जनमत साँच्चै ऐतिहासिक ठहरिनेछ ।  नत्र यो पनि अर्को अधुरो अपेक्षाको कथामै सीमित हुनसक्छ । त्यसैले अब सरकारको नेतृत्व गर्ने व्यक्ति जिम्मेवार भएर मुलुकका आम समस्या र जनताका पीडामा मलम पट्टी लगाउने योजनाहरु लिएर चुनाव क्षेत्र पस्न सक्नु पर्दछ ।