रङहरुको पर्व होली आपसी सद्भाव, भ्रातृत्व र उल्लासको प्रतीक हो । तर, यस वर्ष धरानका सडक र बजारहरुमा विगतको जस्तो रौनकता देखिएन । चुनावी सरगर्मी र ग्रहणको प्रभावका कारण पनि होलीले यस पटक मुस्कान ल्याएन । माछाभौडी, भानुचोक, अमान बजारमा भीडभाड र उल्लासमय हुने होली यस पटक चुनावका कारणले गर्दा हुन पाएन । सार्वजनिक स्थानहरुमा कार्यक्रम नगर्नू भन्ने प्रशासनको निर्देशनका कारण पनि यस पटक होली उल्लासमय हुन सकेन । यसले गर्दा व्यापारीहरु विशेषगरी मारमा परे । रङ बिक्री गरेर कमाइ गर्दै आएका व्यापारीहरु पर्नसम्म घाटामा परे ।

ग्रहणले गर्दा पनि कतिपय हिन्दूहरुले होली मनाएनन् । विशेषगरी उनीहरुमा मनोवैज्ञानिक प्रभाव परेको देखियो । तर धेरै प्रभाव चाहिँ आसन्न निर्वाचनका कारणले देखा पर्यो । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मुखमै सुरू भएको मौन अवधि र सुरक्षा संवेदनशीलताका कारण प्रशासनले सार्वजनिक स्थलमा कार्यक्रम गर्न रोक लगायो । यसले एक प्रकारको खुसी छिन्यो । चाडपर्व र निर्वाचनको कार्यतालिका जुध्दा सरकार र निर्वाचन आयोगले जुन किसिमको समन्वय गर्नुपथ्र्यो, त्यहाँ कतै न कतै चुकेको देखियो । पर्वलाई निर्वाचनकै नाममा सार्वजनिक रुपमा मनाउन बन्देज लगाइनुले नागरिकको सांस्कृतिक स्वतन्त्रतामा केही हदसम्म सङ्कुचन ल्याएको महसुस गरिएको छ ।

कतिपयले होलीको समयमा हुने व्यापारबाट वर्षभरिको खर्च धान्ने गर्छन् । साना व्यापारीहरु सबैभन्दा बढी मारमा परे । यस्तै टिसर्ट पनि राम्रैसँग बिक्री हुन्थ्यो । यो बेलामा अधिकांश व्यापार व्यवसाय चहलपहल हुन्थ्यो । तर त्यसो हुन पाएन । यसले अर्थतन्त्रलाई पनि सामान्य रुपमा सङ्कुचन गरेको छ । हेर्दा सामान्य लागे पनि यसको पछाडि ठूलो अर्थ राख्दछ । साउँ नै नउठ्ने अवस्था आउनु भनेको एउटा खुद्रा व्यापारीका लागि ठूलो आर्थिक क्षति हो ।

अर्कोतर्फ सूर्य र चन्द्रग्रहणको प्रभावका बारेमा खुलेर बताउन नसक्नु पनि अर्को कारण रह्यो । विशेषगरी सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको देखिन्छ । यस्ता भ्रमहरु समयमै चिर्न नसक्दा पनि चाडबाडहरु खल्लो रह्यो । प्रशासनले सुरक्षाका नाममा उत्सवहरुलाई पूर्णतः निषेध गर्नुभन्दा मर्यादित रुपमा मनाउने वातावरण निर्माण गर्नुपर्छ । निर्वाचन लोकतन्त्रको उत्सव हो भने होली हाम्रो संस्कृतिको मुटु । एउटा उत्सवले अर्को उत्सवलाई विस्थापित गर्नु सुखद् पक्ष होइन । आगामी दिनमा यस्ता संवेदनशीलतालाई बुझेर नीति निर्माण गरिनु आवश्यक छ, ताकि होली मनाउनेहरु र व्यापारीहरु पनि त्यसको मारमा नपरुन् ।