-भोजराज श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाईं एमालेमा प्रवेश गरेको भनी अध्यक्ष केपी शर्मा ओलीसँग बसेको एउटा फोटो फैलिएको छ । फोटोमा रमेश प्रसाईं, श्रीमती र मध्य भागमा अध्यक्ष ओलीले बच्चालाई च्यापेर उभिएको देखिन्छ । 

तर, उक्त विषयमा गरिएको हाम्रो तथ्य जाँचले फोटो वास्तविक भए पनि एमालेमा प्रवेश नगरेको पुष्टि गरेको छ । 

के हो दाबी ? 

३९ हजार फलोअर रहेको लक्ष्मण धामी (Laxman Dhami) नामक फेसबुक प्रयोगकर्ताले बुधबार (२०२६ मार्च ४, दिनको १४ः५६ बजे) एउटा फोटो पोस्ट गरेका छन् । उक्त फोटोमा उनले रमेश प्रसाईं एमालेका प्रवेश भनेर लेखेका छन् । 

हेर्नुहोस् स्क्रिन सट :

ramesh4

लक्ष्मण धामी पोस्ट गरेको लिङ्क तथा अर्काइभ लिङ्क

हामीले तथ्य जाँच गर्दै गर्दा ३ हजार ९ सयले रियाक्सन, ५९७ जनाले कमेन्ट र ६० जनाले शेयर गरिएको छ । 

हामीले यसबारे थाहा पाउन निम्न चरण पार गर्यौँ । 

-गुगल रिभर्स इमेज सर्च गरी फोटोको वास्तविकता खोज्यौँ । 

-सम्बन्धित व्यक्तिलाई फोनसम्पर्क गरी वास्तविकता बुझ्यौँ । 

गुगल रिभर्स इमेज सर्च गरी हेर्दा सोसम्बन्धी धेरै फोटोहरू आए । जसमा उज्यालो एफएमले सन् २०२२ सेप्टेम्बर ११ तारिकका दिनमा उक्त फोटो हालेको पायौँ । 

हेर्नुहोस् स्क्रिन सट र लिङ्क

ramesh

सोही प्रकृतिको फोटो नयाँ पुस्ता फेसबुक पेजमा पनि भेट्यौँ । उक्त फेसबुक पेजले पनि २०२२ सेप्टेम्बर ११ तारिककै दिन उक्त फोटो हालेको पायौँ ।

हेर्नुहोस् स्क्रिन सट : 

ramesh1

यस विषयमा समाचारहरु आएका छन् कि छैनन् भनेर जाँच गरेर हेर्दा केही अनलाइनहरू मा समाचार आएको पायौँ । सोही प्रकृतिको फोटो फिचर भनी पोस्टखबर डटकमले पाँच वटा फोटो हालेको पायौँ । उक्त अनलाइनमा पनि मिति २०२२ सेप्टेम्बर ११ नै उल्लेख गरिएको छ । जसको शीर्षकमा एमाले अध्यक्ष ओलीसँग सञ्चारकर्मी रमेश प्रसाईंको पारिवारिक भेट (फोटोफिचर) भनी लेखिएको छ ।  

पोस्टखबर डटकममा प्रकाशित समाचारको स्क्रिन सट हेर्नुहोस् ।

ramesh2


हेर्नुहोस् उक्त समाचारको लिङ्क  र अर्काइभ लिंक । 

यसबारे थप बुझ्‌न हामीले सम्बन्धित रास्वपाका नेता रमेश प्रसाईंलाई उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा आफू एमालेमा प्रवेश नगरेको र उक्त तस्बिर चार वर्ष पुरानो टेलिभिजनको कार्यक्रमका लागि पारिवारिक भेटको सन्दर्भमा खिचिएको बताए । अहिले सोही फोटो हालेर चुनावको बेलामा भ्रम फैलाइएको उनले बताए । 

उनले आफूले २०२६ फेब्रुअरी २४ बिहीबार हेटौडाको कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले सहकारी ठगेको प्रमाण पुगे आफू एमालेमा प्रवेश गर्ने गरेको कुरा बताएको कुरालाई तोडमरोड गरिएको हुनसक्ने बताए । 

हेर्नुहोस् स्क्रिन सट : 

ramesh3 1

उनले उक्त कुरा बोलेको भिडियो यहाँ क्लिक गरेर हेर्नुहोस् ।

https://www.awesomescreenshot.com/video/50055825

तथ्य जाँच

दाबी : रमेश प्रसाईं नेकपा (एमाले) मा प्रवेश गरेको । 

दाबीकर्ता : लक्ष्मण धामी नामक फेसबुक प्रयोगकर्ता । 

तथ्य : भ्रामक सूचना । विभिन्न प्रमाणका आधारमा हेर्दा चुनावलाई प्रभावित पार्ने उद्देश्यले पुरानो फोटोलाई नयाँ सन्दर्भझैँ बनाएर तस्बिर हालेको पाइयो ।