झापा (दमक) । सामाजिक सञ्जाल फेसबुक, टिकटक, रिल्स तथा एक्समा झापा क्षेत्र नम्बर ५ मा जति चुनावी उभार आएको छ । यथार्थमा त्यस्तो छैन । सबै आ–आफ्नै दैनिकीमा मग्न छन् । व्यापार गर्नेहरू व्यापार गरिरहेका छन्, श्रमिकहरू मजदुरी गरिरहेका छन् । किसान खेत खेतमा आलु खन्न र तोरी उखेल्न व्यस्त छन् । काम नहुनेहरू क्यारामबोर्ड तथा लुँडोमा मग्न छन् ।
बजार मात्रै हैन, दमकका गाउँगाउँमा पनि चुनावी उभार देखिँदैन । “सामाजिक सञ्जालमा देखिएको जस्तो यहाँ पाउनु भयो त ?” –अग्रज पत्रकार कमन देवानले उल्टो प्रतिप्रश्न गरे । उनले भने जस्तै सहरका गल्लीगल्ली तथा किसानका खेतबारीमा पुग्दा, सुकुम्बासी वस्ती क्षेत्रमा पुग्दा पनि चुनावी रौनक देखिँदैन । नाम नभनौँ भन्दै काङ्ग्रेसका एक नेताले भने, “जति हल्ला छ, त्यो अनुसार यहाँ केही छैन । सबै आआफ्नै काममा व्यस्त छन् । तर फेसबुकहरूमा हे¥यो भने चाहिँ अचम्मलाग्दो छ । चुनाव त फेसबुकमा पो आइरहेको छ ।”
निर्वाचन आयोगले माघ ६ गते गरेको उम्मेदवारी मनोनयनका दिन चुनावी उभार आए पनि त्यसयता भने चकमन्न रहेको भेटिएका अधिकांशले बताए । “मनोनयनको बेला हल्लाखल्ला भयो । बालेनलाई हेर्न मान्छेहरू धेरै जम्मा भए त्यसपछि केही त्यस्तो छैन” दमक नगरपालिका–६ क्षेत्रमा ठेला व्यापार गर्दै आएका सुशील साहले भने, “चुनावी माहौल नै छैन । हेर्नु न मेरो ठेलामा आएर खाने मान्छे नै छैन । कसैलाई चुनावको मतलव छैन ।”
अधिकांशले चुनावी माहौल नहुनुमा नेताको प्रवृत्ति र कार्यशैलीलाई दोष दिए । “जुन जोगी आए पनि कानै चिरेका छन् । कसको विश्वास गर्ने ? सबै उही ड्याङका मूला त हुन्” दमक नगरपालिका–९ घर भएका सिटी सफारी चालक सीताराम थापाले भने, “कसैको विश्वास गर्न सकिँदैन । यो क्षेत्रबाट केपी ओलीले ५ पटकभन्दा बढी जितिसक्नु भयो । तर केही गरेको होइन । चारचोटि त देशकै प्रधानमन्त्री हुनुभयो ।”
विगतजस्तो अहिले नेताहरू चुनावी प्रचारमा पनि देखिएका छैनन् । नेता, कार्यकर्ताहरूको झुण्ड पनि देखिँदैन । “कुन मुख लिएर आउँछन् जनताको घर घरमा नेता ? उनीहरूले कबुलेको वाचा एउटै पूरा गरेका भए पो ?” सिटी सफारी चालक थापा आक्रोसित हुँदै भने, “भनेको एउटा काम गरेको होइन । खालि भोट मागेको छ जितेर गए पनि काम गर्ने होइन । भ्रष्टाचार गरेको छ । केही छिसिक्क जनताको काम गर्नुप¥यो भने तपाईं कुन पार्टीको हो ? भन्दै सोध्छन् । पार्टीका नहुनेले के न्यायै नपाउने हो र !”
यस पटक मतदातासामु जानका लागि पुराना पार्टीहरूलाई निकै सकस छ । मनोनयनपश्चात् नेताहरू जनताका घर घरमा पुगिरहँदा अनेकन प्रश्न तेस्र्याइरहेका छन् । ती प्रश्नहरूको यथेष्ट जवाफ दिन सकिरहेका छैनन् । चार पटकसम्म प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई नै जनताले ¥याख¥याख्ती पारेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनिरहेका छन् । त्यहाँ पुग्दा त्यो अवस्था देखिन्छ । जनतासँग आक्रोस छ । “खानेपानीको पाइप आइपुग्छ भने, पाइप कहाँ जोडे । ग्याँसको पाइप केपी बा जोडिदिने भन्दैछन् । हामीले यहाँ पानी खान पाएका छैनौँ । चार घरको एउटा धारो छ” दमक नगरपालिका–१४ नमुना बस्तीकी कर्मकुमारी लामिछानेले भनिन्, “धारा छैन । भोट दिनु कि नदिनु यी चोर जस्तालाई ।”
जनतामा एक प्रकारको आक्रोस देखिन्छ । नागरिकहरू नेताको कामप्रति विश्वस्त छैनन् । किसानहरूको समस्या ज्यूँका त्यूँ नै छन् । किसानले सिँचाइ पाएका छैनन् । समयमा खेती गर्न पाएका छैनन् । कमल गाउँपालिका–५ का इन्द्रबहादुर श्रेष्ठ भन्छन्, “कसैले केही गर्ने होइनन् । चुनाव आउँदा ढोग्दै आउँछन् । जितेपछि साँढे हुन्छन् । किसानको पिरमर्का बुझ्ने होइनन् ।”
२९ वटा वडा रहेको झापा क्षेत्र नम्बर ५ मा किसानका आआफ्नै समस्या छन् । केही क्षेत्र बजार भए पनि अधिकांश क्षेत्र गाउँ पर्छ । यस्तै श्रमिकका आआफ्नै समस्या छन् । ठूला व्यापारी तथा साना व्यापारीका आआफ्नै खाले समस्या छन् । समस्यालाई कसैले पनि सुनुवाइ नगरेको अधिकांशको गुनासो छ । “हाम्रा दुःख तिनीहरूले सुन्ने भए पो पार्टी पार्टी भन्दै कुद्नु ?” श्रेष्ठले भने, “हामी किसानलाई दैनिक खनीखोस्री गरेन भने हुँदैन । अब त यी मुलाहरूले गर्लान् भन्ने पनि विश्वास छैन ।”
देशको राजनीतिको ‘इपिसेन्टर’ बनेको झापा ५ सुनसानप्रायः छ । विगतमा हुने निर्वाचनका बारेमा बताउँदै ठेला व्यापारी सुशील साह भन्छन्, “पहिला त मान्छेको घर घरमा पार्टीको झण्डा हुन्थ्यो । तामझाम हुन्थ्यो । अहिले त मान्छे नै छैन जस्तो । कसैलाई कसैको वास्ता छैन । चुनाव पनि आएको हो कि हैन जस्तो छ । यस्तो पनि हुन्छ ?”
































