गौरीगन्ज (झापा) । झापाको दक्षिण क्षेत्रमा पर्ने गौरीगञ्ज–५ डाँगीटोलाका मालिचन महतोको दैनिकी भारतीय सीमा क्षेत्रमा चौपाया व्यापार गरेर बित्छ । चुनावी मौसम सुरु भएको छ । तर, महतोको मनमा चुनावप्रति खासै ध्यान छैन ।
“सबै पार्टीलाई हेरियो, आश्वासन धेरै खाइयो” उनले भने, “यसपटक नयाँलाई पाँच वर्ष दिएर हेरौँ भन्ने लागेको छ । काम गरेन भने फेरि अर्को पटक फेरौँला ।” महतोको असन्तुष्टिको मुख्य कारण विकासको गति कछुवा तालमा भएकाले हो । गौरीगन्ज बजार जोड्ने करिब ७ किलोमिटर सडक ग्राभेल भएको वर्षौँ भइसक्यो, तर पिच हुने छाँटकाँट छैन । “दैनिक सयौँ सवारी गुड्छन्, धुलोले बस्ती नै ढाकिन्छ” उनले गुनासो पोखे, “धुलो खाएर हैरानी भइसक्यो, यहाँ बस्नै नसक्ने अवस्था छ ।”
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यो क्षेत्र विकासका हिसाबले अझै पनि पछाडि परेको स्थानीयको बुझाइ छ । गौरीगन्ज–३ ठेकीटोलका ६१ वर्षीय कमलकुमार निरौला घरअगाडिको सडक नबन्दा रुष्ट छन् । चुनाव नजिकिएपछि सडकमा स्काभेटर चल्नुलाई उनी ‘देखावटी’ मान्छन् । “सडक पिच हुन्छ भनेको वर्षौँ भयो, जहिले हिँड्ने बाटोको हालत यस्तै छ” निरौलाले भने, “अहिले चुनाव आउन लागेपछि बाटो कोतरेका छन्, तर बन्ने लक्षण देखिन्न । धुलो खानु हाम्रो नियति नै बन्यो । त्यसैले यसपटक नयाँ अनुहारलाई मत दिने सोचमा छु ।”
गौरीगन्जका मतदातामा भौतिक पूर्वाधार मात्र होइन, शिक्षा र स्वास्थ्यको महँगीले पनि वितृष्णा जगाएको छ । स्थानीय फागुनी ताजपुरिया भन्छिन्, “नेताहरू आकाशको तारा खसाल्ने गफ गर्छन् तर हामीलाई सामान्य शिक्षा र उपचार महँगो भयो । गुणस्तरीय उपचार पाउनै गाह्रो छ । हामीलाई ठूला सपना होइन, आधारभूत सुविधा दिने जनप्रतिनिधि चाहिएको हो ।”
यो निर्वाचन क्षेत्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘लाल किल्ला’ का रूपमा परिचित छ । २०४८ सालयताका सातवटा निर्वाचनमध्ये २०६४ सालबाहेक सबैमा ओलीले यहाँबाट जित निकाल्दै आएका छन् । तर यसपटकको परिदृश्य फरक देखिन्छ । काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेर आएपछि झापा–५ देशकै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ ।
ओली र बालेनबीचको प्रतिस्पर्धाले चुनावी मैदानलाई रोचक बनाएको छ । मतदाता फकाउन ओलीले २६ माघको घरदैलोमा ‘६ महिनाभित्रै घर–घरमा पाइपबाट ग्याँस पु¥याउने’ महŒवाकाङ्क्षी योजना अघि सारेका छन् । उता, बालेनको उपस्थिति र रास्वपाको लहरले परम्परागत पार्टीहरूलाई चुनौती थपिदिएको छ । चुनावी मैदानमा ओली र बालेनबाहेक रञ्जित तामाङ (नेकपा), मन्धरा चिमरिया (काङ्ग्रेस), लक्ष्मीप्रसाद सिटौला (राप्रपा) सहित २४ जना उम्मेदवार छन् ।
दमक, गरौदह, कमल गाउँपालिका र गौरीगन्जका १ र २ नम्बर वडाबाहेक चार पालिकाका २९ वडा समेटिएको यस क्षेत्रमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ९ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । ती नयाँ मतदाता र बदलिँदो जनमतले यसपटक ओलीको विरासत जोगाउने कि परिवर्तन रोज्ने भन्नेमा ठूलो भूमिका खेल्ने देखिन्छ ।
२१ फागुनमा हुने भनिएको निर्वाचनको परिणामले झापा ५ को दशकौँ पुरानो राजनीतिक विरासतलाई निरन्तरता दिनेछ वा नयाँ नेतृत्वको उदय गराउनेछ, त्यो भने अबको तीन सातापछि थाहा हुनेछ ।
































