धरान । सुनसरी क्षेत्र नं. ४ मा दुई पूर्वमन्त्रीसहितका हेभीवेट उम्मेदवारको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा स्वतन्त्रसहित ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपालसहित स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरूले आफ्नो पक्षमा प्रभाव पार्न घरदैलो अभियानलाई पनि तीव्र पारेका छन् ।
काङ्ग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पूर्व प्रदेशमन्त्री जगदीशप्रसाद कुसियैत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, जसपाबाट सविता यादव, श्रम संस्कृति पार्टीबाट विष्णु राना उम्मेदवार छन् । काङ्ग्रेसबाट उम्मेदवारी दिएका कार्की यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन् । उनले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर आफ्नो प्रचारप्रसार गरिरहेका छन् । तेस्रो पटकको संसदीय यात्रा गर्ने उनको लक्ष्य रहेको छ ।
तर नयाँ दलहरूको उदय र काङ्ग्रेसमा देखिएको किचलोले उनलाई त्यति सजिलो नभएको स्थानीय बताउँछन् । उनी शेरबहादुर देउवाका दाहिने हात मानिन्छन् । पटक–पटक मन्त्री भएर पनि निर्वाचन क्षेत्रमा विकास नगरेको स्थानीयको गुनासो पनि उत्तिकै छ ।
वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ३ सय ४७ मत प्राप्त गरी विजयी भएका कार्की २०७९ सालमा एमालेका उम्मेदवार कुसियैतलाई १ सय १२ मतान्तरले हराएर विजयी भएका थिए । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पुल निर्माण, सप्तकोशी कटान नियन्त्रण, विपन्न समुदायको उत्थान तथा खेलकुद विकासमा योगदान दिँदै आएको छु । अधुरा काम सम्पन्न गर्न पनि म चुनावी मैदानमा होमिएको हुँ”–उनले भने ।
एमालेका उम्मेदवार कुसियैतले कोशी प्रदेश सरकारमा पूर्व पर्यटन मन्त्री हुन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका उनी आठ औँ पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी कार्कीका सदावहार प्रतिस्पर्धी हुन् । स्थानीय जनताका आवश्यकता सम्बोधन गर्न र देशमा सुशासन, समृद्ध राष्ट्र र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्पसहित आफू चुनावी प्रतिस्पर्धामा रहेको कुसियैतले बताएका छन् ।
कुसियैतले २०५१ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । उनी २०५३ को उपनिर्वाचनमा र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेकपाबाट उम्मेदवार रहेका अन्सारीले भ्रष्टाचारको अन्त्य र जेन जी युवाहरूको मागलाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताएका छन् । रास्वपाका दीपककुमार साहको पनि ४ नं. क्षेत्रमा चर्चा चुलिएको छ । बालेन र रविका कारण पनि रास्वपामा मतदाताहरू प्रभावित भएका छन् ।
सुनसरीका प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार निर्वाच क्षेत्र नं.४ मा ३४ जनाले उम्मेदवारी दिएका थिए । एक जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल कायम रहेका उम्मेदवारमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र उम्मेदवार रहेको उनले जानकारी दिए । तीमध्ये २९ जना पुरुष र पाँचजना महिला रहेका छन् । यस क्षेत्रमा उम्मेदवारी दिने उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको राउतले बताए ।
यहाँ स्वतन्त्र उम्मेदवार मो. गुलाब अन्सारी कान्छा उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवारको रूपमा रहेका छन् । सबै उम्मेदवारले आफ्ना मुद्दामा सहमत गराउँदै मत तान्ने कसरत गरिरहेका छन् । मतदाताले भने स्थानीय आवश्यकता सम्बोधनको विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मतदात गर्ने मनस्थिति बनाएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं. ४ का युवा मतदाता सरोज मेहता भन्छन्, “ग्रामीण विकास र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिनिधि चाहिएको छ । यसका साथै युवालाई रोजगारी, कृषिको आधुनिकीकरण गर्न सिँचाइ सुविधा, मल, बिउ तथा बजार व्यवस्थापनको समस्या समाधान गर्ने आधार दिनेलाई मात्र मत दिने सोच छ ।”
निर्वाचन क्षेत्र नं. ४ मा एक लाख ३९ हजार ३ सय ३० मतदाता रहेका छन् । यहाँ ७३ हजार २९ पुरुष र ६६ हजार ३ सय १ महिला मतदाता छन् । यहाँ ४२ मतदानस्थल र १ सय ५० मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
हाल घरदैलोमा व्यस्त उम्मेदवारलाई यही फागुन ४ गतेदेखि खुला रूपमा प्रचार गर्ने समय दिइएको छ । त्यसलाई मध्यनजर गरी निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थितरूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको प्रमुख निर्वाचन अधिकृत राउतले बताए ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा करिब तीन हजार ७ सय ४४ जना निर्वाचन कर्मचारी परिचालन हुने उनले जानकारी दिए । “मतदातालाई सुरक्षित वातावरणमा मतदानको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय भइरहेको छ ।
उम्मेदवारलाई निर्वाचन आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्न पनि आग्रह गरिरहेका छौँ”–उनले भने ।
































