धरान । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन निस्तेज पार्ने तयारी गरिरहँदा सुनसरी क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले बैठक बसी विशेष महाधिवेशन हुनैपर्ने अडान राखेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशनका पक्षमा निर्णय गरेको हो । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा उठान गरिएका सुशासन, भ्रष्टाचारको अन्त्य र वाक स्वतन्त्रताको मुख्य मागसहितका शासकीय सुधारका लागि पनि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका हुन् ।
पार्टीभित्र सशक्त रुपले उठेका रुपान्तरण र पुस्तान्तरणका आवाजलाई संवोधन गर्न, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बलियो जनमत प्राप्त गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
पार्टीको ४ वर्षे कार्यकाल समेत सम्पन्न भएको अवस्थालाई मध्यनजर गरी नीति र नेतृत्व परिवर्तनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन अगावै नियमित महाधिवेशन गर्न वा विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन गर्न गरेको मागलाई लत्याउन खोजेको जनाएको छ ।
यही पुस २६–२८ मा गर्ने भनि तोकिएको नियमित महाधिवेशन पनि नगरी आगामी २०८३ बैशाख २८–३१ मा पुर्याएबाट बहुमत महाधिवेशन प्रतिनिधिहरुको भावना र विधान माथि खेलवाड भएको जनाएको छ । बैठकले पुस मसान्तभित्रै विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने र उक्त विशेष महाधिवेशनमा सुनसरी क्षेत्र नं. १ वाट सहभागिता जनाउने निर्णय गरेको सभापति तामाङले बताए ।
बैठकले विगतका निर्वाचनहरुमा पार्टीले अन्य दलसंग गठबन्धन गरी फरक फरक चुनाव चिन्हमा फरक दलका उम्मेदवारलाई मतदान गर्नुपर्दा मतदाता र कार्यकर्तामा निराशा छाएको र संगठनमा समेत प्रतिकुल असर परेको भन्दै आगामी निर्वाचनमा कुनैपनि दलसंग गठबन्धन नगर्न पार्टी केन्द्रीय समितिलाई ध्यानाकर्षण गराइने उनले बताए ।
पार्टीले हालै पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पटक पटक सांसद र मन्त्री भएका तथा निरन्तर अवसर पाएकाहरुले नै प्राथमिकता पाएकोप्रति असन्तुष्टि प्रकट गर्दै बन्दसूची संशोधन गरी पार्टीमा अवसर नपाएका, त्याग र योगदानका आधारमा तय गर्नुपर्ने जनाएको छ ।
सुनसरी क्षेत्र नं. १ को हकमा पार्टीको नीति र सिफारिस गरिएबमोजिम उम्मेदवार छनौट गर्न माग गर्ने समेत निर्णय भएको उनले बताए ।
बैठकमा कोशी प्रदेश महामन्त्री एवम् महासमिति सदस्य उमेश थापा, महासमिति सदस्यहरु चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राई, सुवास राई, श्यामा रेग्मी र जगतबहादुर कार्की तथा महाधिवेशन प्रतिनिधिहरु चन्द्र शेखर लामा, सन्दिप श्रेष्ठ, विकास आचार्य, ललिता शर्मा अधिकारी, दिपेशजंग बस्नेत र पुजा धामीले आफ्ना विचार राखेका थिए ।
त्यसैगरी जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारीप्रसाद भट्टराई, धरान नगर सभापति श्याम पोखरेल लगायतले पनि आप्mना धारणा राखेका थिए ।
बैठकमा कोशी प्रदेश सदस्य एवम् महासमिति सदस्य सन्तोष वि.क., महासमिति सदस्य कृष्णकला मादेन, महाधिवेशन प्रतिनिधिद्धय निलकुमारी गिरी थापा र रवि राई, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई (प्रविन), क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई लगायतको समेत उपस्थिति रहेको थियो ।
































