गत असोज २५ गते सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी भएको हत्या घटना निकै चासोका साथ हेरिएको थियो । सिटी सफारी चालकलाई हत्या गर्न किन गोली हान्नु परेको हो ? सार्पसुटरहरु प्रयोग गर्नुपर्ने बाध्यता किन आइलाग्यो ? भन्ने विषयमा केही समय गर्मागर्मी बहस चल्यो । अन्ततः दुई महिनापश्चात् प्रहरीले उक्त घटनाको गुत्थी टुङ्ग्याएको छ । तर यो घटनामा आरोपितहरु पक्राउ परेपश्चात् नयाँ बहस सिर्जना गरिदिएको छ । मृतक चौधरीले तन्त्रमन्त्र गरेको निहुँ बनाई ‘सुपारी दिई’ हत्या गरिएको प्रमाण बाहिरिएको छ । तन्त्रमन्त्रमा विश्वास गर्ने हाम्रो समाजले के सन्देश दिन खोजिरहेको छ ? सामाजिक कुरीति र अन्धविश्वासको पछाडि लाग्ने हाम्रो समाज अझै कहाँ छ ? विश्व कहाँ पुगिसकेको छ तर हाम्रो समाज अझै पनि पश्चगामी सोच र चिन्तनबाट गुज्रिरहेको छ भन्ने यो घटनाले प्रस्तुत गरेको छ । सुपारी दिई दिई हत्या गर्नुपर्ने अवस्था सिर्जना हुनु अपराधीको मनोदशा र आपराधिक प्रवृत्तिको बहस हुन जरूरी देखिएको छ ।
प्रहरीले यो घटनामा सातजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । हत्याको प्राथमिक कारणमा ‘तन्त्रमन्त्रका कारण दीर्घकालीन दुःख दिएको’ भन्ने छ । यसले हाम्रो समाजमा जरो गाडेर बसेको अन्धविश्वास तथा कुप्रथाको भयावह पक्षलाई उजागर गरेको छ । समाजमा विद्यमान सामाजिक कुरीति र अन्धविश्वासको भयावह पक्षलाई औँल्याएको छ । आरोपितहरुले पनि घटना घटाउने कारणबारे स्वीकार गरेको अवस्था छ । यस्ता घटना हाम्रा समाजमा अझै पनि लुकेर बसेका छन् भन्ने तथ्य सार्वजनिक गरेको छ । यो घटना हत्यासँग मात्रै जोडेर हेर्नु पनि हुँदैन । समाजका विविध आयामहरुलाई गम्भीर ढङ्गले बहस र छलफल चलाउन आवश्यक छ । समाजमा जरो गाडेर बसेका अन्धविश्वास र कुरीतिको अन्त्यका लागि थप बहस जरूरी देखिन थालेको छ । तन्त्रमन्त्रको भरमा परेर जघन्य अपराधहरु निम्तिनु समाजका लागि हितकर होइन । यस्ता अपराधहरुको जडलाई नै अन्त्य गर्न समाजमा जागरण फैलाउन आवश्यक छ । समाजमा अन्धविश्वास र आपराधिक मानसिकतालाई अन्त्य गर्न सबैले आ–आफ्नो स्थानबाट पहलकदमी जरूरी देखिएको छ ।
यो हत्या योजनाबद्ध देखिन्छ । अर्थात् अपराध गर्नका लागि ‘एक्ट्स रिया र मिन्स रिया’ दुवैको आवश्यकता हुन्छ भनिन्छ । यहाँ मिन्स रिया अधिक सक्रिय भएको देखिन्छ । हत्या गर्नका लागि केही मान्छे भाडामा लिई हत्या गराउन पहिलेदेखि नै योजना बुनेको देखिन्छ । यसकारण अपराधमा संलग्नहरुलाई अन्य घटना जस्तै सामान्य तरिकाले अनुसन्धान गरी कारबाही गरियो भने पीडित परिवारलाई अन्याय हुन सक्छ । पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने अवस्था सिर्जना गरिनुपर्छ । दैनिक कमाइ गर्ने एउटा परिवारको सदस्य गुमाउँदा त्यो परिवार कसरी सामाजिक, आर्थिक अवस्थाबाट गुज्रिएको छ ? उनीहरुको अवस्था के छ ? यस्ता विषयमा गम्भीर मनन गरिनुपर्छ । यता हाम्रो समाजमा विद्यमान अन्धविश्वासमा आधारित हत्याका घटनालाई फरक कोणबाट अनुसन्धान अगाडि बढाउने परम्परा विकास गर्नुपर्छ । समाजमा विद्यमान यस्ता कुरीतिलाई अन्त्य गर्न हदैसम्मको कारबाही आवश्यक छ । यसलाई केवल व्यक्ति हत्याको रुपमा नलिई अन्धविश्वासले कसरी आपराधिक समूहलाई परिचालन गर्छ भन्ने कोणबाट पनि व्याख्या हुन जरूरी छ र यस्ता घटनाको अन्त्य सामाजिक जागरणबाट मात्रै सम्भव छ भन्ने देखिएको छ । त्यसतर्फ पनि समाज अगाडि बढोस् ।
































