धरान । मुटु रोग विशेषज्ञ डा. प्रशान्त साह प्राध्यापकमा पदोन्नति भएका छन् । डा. साहलाई काठमाडौँ विश्वविद्यालयले प्राध्यापकमा नियुक्त गरेको छ । 

यसक्रममा परिवर्तनका लागि सामाजिक अभियानले ६० औँ सामाजिक स्वास्थ्य क्लिनिकको अवसर पारी अभियानलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने डा. साहलाई बधाई ज्ञापन गरेको छ । डा. साह हालै प्राध्यापकमा नियुक्त भएपश्चात् अभियानले शनिबार कार्यक्रमको दौरान बधाई ज्ञापन गरेको हो । यसक्रममा विभिन्न औषधि बिक्री गर्दै आएको कम्पनीहरुले पनि बधाई ज्ञापन गरेका थिए ।

Dr. Prasant_shah_dharan_bishnu (1)

अभियानका अध्यक्ष विष्णु बरालले डा. साह हालै प्राध्यापकमा नियुक्त भएकाले उत्तरोत्तर प्रगतिको कामना गरे । उनले भने, ‘हामीले मात्रै यो अभियानलाई यहाँसम्म ल्याउन सक्दिनथ्यौँ । यसमा डा. सापको अहम् भूमिका छ । उहाँ आजसम्म हामीसँग हुनुहुन्छ । यहीबीचमा उहाँ प्राध्यापकमा नियुक्त हुनुभएको छ । यसले हामीलाई गौरवान्वित बनाएको छ ।’

त्यसक्रममा अभियानका सल्लाहकार वासुदेव बरालले पनि प्रा.डा. साहलाई बधाई ज्ञापन गरेका थिए । प्रा.डा. साहले पनि सबै धरानेहरुले माया गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । उनले आफू यस कामलाई पेशाको रुपमा मात्रै नलिई सेवाको रुपमा पनि लिने गरेको बताए । ‘मलाई यही गर्दा मज्जा हुन्छ, यसैमा रमाउँछु ।

त्यसकारण म जतिसुकै समयमा पनि सेवा दिइरहेको हुन्छु’ उनले भने । धरान १ स्थित मोडल कलेज परिसरमा आयोजित कार्यक्रममा यसपटक ३० भन्दा बढीले सेवा लिएको कार्यक्रम संयोजक शुशिर (त्रिभुवन) बरालले जानकारी दिए । अभियानले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मुटुरोग, उच्चरक्तचापलगायतको सेवा दिँदै आएको छ ।

अभियानलाई विभिन्न औषधि कम्पनीहरूले पनि निःशुल्क औषधि वितरण गरी सहयोग गर्दै आएका छन् भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरुले पनि सहयोग गर्दै आइरहेका छन् ।