धरान । तराईका जिल्लामा एक्कासि गर्मी बढेको छ । गर्मी बढेपछि तराई(मधेशको जनजीवन प्रभावित बनेको छ ।

कोशी प्रदेशसँगै मधेश प्रदेशका केही जिल्लामा अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ‘लू’ (तातो हावा) चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । एक सातायतादेखि मधेशअन्तर्गतका जिल्लाहरूमा गर्मीको चाप बढेको हो ।

गर्मीले गर्दा नै दिउँसोको समयमा मुख्य बजारहरू सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको सरकारी कार्यालयहरूले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको जानकारी दिए ।

डा. दासले भने, ‘गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको उनको भनइ छ । दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिमा समस्या देखिन थालेको छ । जसले गर्दा स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको छ । तातो हावाका कारण टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् ।

यस्तै तातो हावा चल्दा तरकारी, मकैलगायतका बालीनालीसमेत सुक्न थालेका छन् । यस वर्ष वर्षा नभएका कारण पनि गर्मी ह्वात्तै बढेको हो । मधेश प्रदेशको क्षीरेश्वरनाथ नगरपालिका–५का रामदेव बनरैतले तातो हावाहुरीका कारण मौसमी फल आँप, लिच्ची र लहरे तरकारीखेती प्रभावित भएको बताए । गर्मीले जनजीवन प्रभावित भए पनि चिसो पेयपदार्थको माग भने बढेको छ । यता महाशाखाले मधेश प्रदेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका जिल्लामा ‘लू’ चल्न सक्ने भन्दै सतर्क गराएको छ । अधिकतम् तापक्रमको मात्रा क्रमिकरूपमा बढ्दै गएकाले सतर्क रहन आग्रह गरिएको हो । महाशाखाले वैशाख १४ गतेसम्म ‘लू’ चल्न सक्ने प्रक्षेपण गरेको छ ।

महाशाखाको बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी तथा मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानहरूमा पछिल्लो एक दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।’ महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार भैरहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको जनाएको छ ।

यस्तै सिमराको ४०.०, जनकपुरको ३९.४, धनगढीको ३८.८ नेपालगञ्जको ३८.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ । तापक्रम बढ्दै जाँदा शरीरमा विभिन्न खालका समस्याहरू आउने भन्दै महाशाखाले सतर्क रहन आग्ह गरेको हो । उसले थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने आदि समस्या निम्तन सक्ने भएकाले सावधानी अपनाउनका लागि आग्रह गरेको छ । ‘लू’ बाट बच्नका लागि गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा रहनका लागि सचेत गराइएको छ ।