धरान । कोशी प्रदेशका विभिन्न स्थानमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । त्यस्तै ६ जना घाइते भएका छन् ।

झापाको बिर्तामोड नगरपालिकामा कारको ठक्करबाट एक बालकको ज्यान गएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शनिबार राति साढे १० बजेको समयमा बिर्तामोडमा प्रदेश १–००१–००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका–१२ का ११ वर्षीय सन्तोष रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ । कारको ठक्करबाट बालकको टाउको र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर ज्यान गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न चालक मेचीनगर नगरपालिका–१ का २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यस्तै झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । आइतबार सवा ३ बजेतिर इलाम सन्दकपुर गाउँपालिका–४ माबुमा मे.१ ज ३२५५ नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा झापा बिर्तामोड नगरपालिका–३ का ७२ वर्षीय मीनबहादुर गुरुङ, बिर्तामोड–३ का ५९ वर्षीय ओमकुमार गुरुङ, सोही ठाउँका ६० वर्षीय तुलाराम गुरुङ, ६२ वर्षीया हर्कमाया गुरुङ, बिर्तामोड–१० का ४० वर्षीया ज्ञानमाया गुरुङ र शिवसताक्षी नगरपालिका–६ की ६५ वर्षीया विष्णुमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई बी एण्ड सी अस्पताल बिर्तामोडमा ल्याइएको छ । गाडीमा १० जना सवार रहेका थिए । चालक इलाम माईजोगमाई गाउँपालिका–६ का ३२ वर्षीय प्रेमबहादुर थापा घाइतेहरूको उपचारमा संलग्न रहेको जनाइएको छ ।