विराटनगर । ‘ज्यान मार्ने उद्योग’ मा विराटनगर–१४ का पूर्व वडाध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

विराटनगर–१४ का दुई जना युवामाथि तरवार प्रहार गरी घाइते बनाएको घटनामा पूर्व वडाध्यक्ष बलदेवसहित ९ जनाविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय रानी विराटनगरमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका हुन् । २९ चैतमा विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादवको योजनामा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेका थिए । तरवार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको अहिले पनि विराट टिचिङ हस्पिटलमा उपचार हुँदै आएको छ ।

पीडित परिवारले तरवार प्रहार गर्ने पूर्व वडाध्यक्ष बलदेवसहित ९ जनाविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दर्ता गराएका छन् । इप्रका रानीमा विराटनगर–१४ का ६५ वर्षीय बलदेव यादव सोही ठाउँका ३४ वर्षीय शङ्कर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शङ्कर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दीपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादवविरुद्ध किटानी जाहेरी पीडितले दर्ता गराएका छन् । किटानी जाहेरी दिएकामध्ये फुलेश्वर प्रहरी नियन्त्रणमा छन् । उनी बिरामी परेको भन्दै अहिले विराटनगरस्थित मेट्रो न्यूरो हस्पिटलमा रहेका छन् ।

प्रहरीमा बिहीबार जाहेरी दर्ता गराएपछि बलदेव फरार छन् । उनी भारततिर गएको प्रहरीले आशङ्का गरेको छ । पीडित परिवार भने जाहेरीमा प्रतिवादी बनाएर किटानी दिएका व्यक्तिहरू अहिले खुलेआम गाउँघरमा रहेको पीडित परिवारले बताएका छन् । ‘छोरालाई तरवार प्रहार गर्नेहरू अहिले गाउँघरमै रहेका छन् । प्रहरी प्रशासनले पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रयत्न गरेको पाइएन’ घाइते सन्तलालका बाबु पञ्चलाल यादवले भने, ‘दिनदहाडै तरवार हान्नेहरू गाउँघरैमा खुलेआम हिँडडुल गर्दा असुरक्षित महसुस गरेका छौँ ।’

पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् । घटनाका मुख्य अभियुक्त तरवार प्रहार गर्ने ३२ वर्षीय दीपेश यादव रहेको पीडितको भनाइ छ । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘उजुरी प्राप्त भएको छ । हामीले घटनाको अनुसन्धान गर्दै आएका छौँ’ एसपी कार्कीले भने, ‘आक्रमणमा संलग्नहरू कारबाहीको दायरामा आउँछन् ।’ उनीहरू फरार भएकाले खोजी कार्य तीव्र बनाएको उनले बताए ।

prahar garne manxebrt

विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेवको योजनाअनुसार ९ जनाको समूहले उनीहरूलाई जग्गा विवादको विषयलाई लिएर आक्रमण गरेको पीडित पक्षको भनाइ छ । सन्तलालको पुरानो घर विराटनगर–१४ रेल–वेदेखि पूर्वमा रहेको छ । अहिले नयाँ घर उनले विराटनगर–१४ धरामवाद रोडमा बनाउँदैछन् । उनी र प्रकाश मोटरसाइकल चढेर नयाँ घर बनाएको तर्फ बुधबार दिउँसो आउँदै थिए ।

‘घरदेखि झण्डै दुई मिटर टाढा पुगेपछि बलदेवको मकैबारीमा बसेका १० जनाको समूहले तरवार लिएर आए । हामीमाथि तरवारले आक्रमण गरे । तरवारले टाउकोमा पनि प्रहार गरे । हेल्मेट लगाएकोले टाउको जोगियो । धेरै पटक हामीमाथि तरवार प्रहार गरेका थिए । जोगिँदा जोगिँदै पनि हातमा तरवारले लाग्यो’ अस्पतालको शय्यामा उपचार गराइरहेका घाइते सन्तलालले भने, ‘जग्गाको विवादलाई लिएर पूर्व वडाध्यक्ष बलदेव यादवको निर्देशनमा उहाँकै मकैबारीमा नियोजितरूपमा आक्रमण भएको छ । भागेर ज्यान जोगियो ।’ आक्रमणकारीले मार्ने उद्देश्यले हमला गरे । निर्देशन दिने र आक्रमण गर्नेलाई कारबाहीको लागि प्रशासनसँग पीडित पक्षले जोडदार माग गरेका छन् । सन्तलालको नयाँ घरको बिहीबार ढलाइ रहेको थियो । त्यही भएर उनी र प्रकाश निर्माणाधीन घर हेर्न जाँदा आक्रमण भएकोे छ । दुई महिनाअगाडि जग्गाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय रानी विराटनगरमा पनि छलफल भएको भएको थियो । त्यही जग्गा विवादलाई लिएर बलदेवले आक्रमण गर्ने बताउँदै आएका पीडितको भनाई छ ।

घाइते सन्तलालको विराट टिचिङ हिस्पटलमा उपचार भइरहेको छ भने प्रकाश उपचारपछि अहिले डिस्चार्ज भएका छन् । तरवार प्रहारबाट सन्तलाललाई गहिरो चोट लागेको छ । उनको बायाँ हात र बायाँ औँलामा गहिरो चोट लागेको छ । सन्तलालको हातमा गिहरो चोट लागेर नशामा पनि असर पुगेको कारणले उनको भास्कुलर सर्जरी गरिनुपर्ने भएकोले थप उपचारको लागि विराट लगिएको चिकित्सकले बताएका छन् ।

आक्रमणको योजना बनाएको आरोप लागेका पूर्व वडाध्यक्ष बलदेव यसअघि पनि कर्तव्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित मोरङ प्रहरीले १० जनालाई ‘कर्तव्य ज्यान मुद्दा’ का प्रतिवादी बनाएको थियो । २०७७ मङ्सिर ११ गते मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका थिए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादव हत्या आरोप लागेपछि वर्षौंसम्म फरार रहे । प्रहरीको तीव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोबास गरेको कारणले उनी पक्राउ परेका थिएनन् । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटीमा छुटेका थिए ।

विवाहको विषयमा विवाद हुँदा  २०७६ साल जेठ ३ गते  विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना वडा अध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।