विराटनगर । चैत १५ गतेबाट सुरु भएको एसईईको परीक्षामा खटिएका परीक्षा केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारबाहीमा परेका छन् ।

मोरङका तीनवटा परीक्षा केन्द्रबाट एक जना केन्द्राध्यक्षसहित तीन जनालाई कारबाही गरिएको हो । विराटनगर–६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियार कारबाहीमा परेका छन् । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई आइतबारदेखि केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । पाँचजना निरीक्षक पनि कारबाहीमा परेको जिल्ला समन्वय इकाई मोरङका प्रमुख टङ्क गौतमलले जानकारी दिए ।

यसैगरी विराटनगर–११ जनपथ मा.वि.मा खटिएका दुईजना परीक्षा निरीक्षकलाई कारबाही गरिएको उनले बताए । जनपथका विजय महतो र योगेन्द्र यादवलाई कारबाही गरिएको छ । उनीहरूको ठाउँमा ज्ञान निकुञ्ज स्कुलका राजु चौधरी र जनचेतना आधारभूत विद्यालयका विना रानी दाहाललाई निरीक्षक राखिएको छ ।

तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि कारबाही गरिएको उनले बताए ।  एसईईको परीक्षामा निरीक्षकका लागि परीक्षा केन्द्र तोकिएका सामुदायिक विद्यालयको प्राथमिक तहको शिक्षक हुनुपर्ने नियम रहेको छ । जनपथ स्कुलमा राखिएका दुई जना निरीक्षक निजी विद्यालयमा प्राथमिक तहभन्दा माथि पढाउने शिक्षक रहेको पाइएपछि कारबाही गरिएको हो । जनपथका दुई जना निरीक्षक निजी विद्यालयमा कार्यरत मा.वि. तहका शिक्षक रहेको पाइएको छ ।

जनपथ स्कुल परीक्षा केन्द्रमा चारवटा विद्यालयका ३ सय ६६ जनाले परीक्षा दिँदैछन् । बिकेभिएम, जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्याश्रम रहेका छन् । सबैभन्दा बढी बिकेभिएमका २ सय ६२ जना परीक्षार्थी रहेका छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी रहेका छन् । ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहायक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक राख्न पाइने मापदण्ड रहेको छ ।

‘ममाथि अन्याय भयो’

कारबाही गरिएको भनिएका शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारले आफूमाथि अन्याय भएको बताएका छन् । निष्पक्ष र भयरहित वातावरणमा परीक्षा सञ्चालन गर्दा आफूलाई जिम्मेवारीबाट हटाएको उनले बताए ।

तीनवटा परीक्षा गराएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आफूलाई परीक्षा अवधिभरि बिदा बस्नू भनेको उनले बताए । शिक्षा सदन परीक्षा केन्द्रमा १० वटा विद्यालयका १ सय ७२ जना विद्यार्थी रहेका छन् । उक्त परीक्षा केन्द्रमा मेरीगोल्ड, जानकी, मनितारा, देवकोटा, सहभागिया, ग्रिनटि, होलील्याण्ड, गोदावरी, ग्रिन नर्थ पोइन्टका विद्यार्थीले परीक्षा दिँदैछन् ।

सो परीक्षा केन्द्रमा सहायक केन्द्र एक जना, निरीक्षक ९ जना रहेका छन् । एक जना निरीक्षक हटाइएको छ । केन्द्राध्यक्ष रौनियारले पहिलो दिन अङ्ग्रेजी, दोस्रो दिन नेपाली, आइतबार तेस्रो दिन गणितको परीक्षा गराएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो । मोरङमा ७० वटा परीक्षा केन्द्र रहेका छन् ।