झापा । भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन किचकबधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खनन्पछि त्यसको पुष्टि भएको हो ।

परातत्वविद् उद्धव आचार्यले उत्खनन्बाट उत्तर–पूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्काे भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवन फेला परेको जानकारी दिए । उनले चारवटै भवनको दक्षिणतर्फ करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए ।

पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन् अर्को वर्ष पूरा हुने बताउँदै भने, ‘सायद अर्को सालसम्ममा उत्खनन् पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन् गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ ।’ उनले हाल उत्खनन् गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनु पर्ने, किचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, किचकबधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

पुरातत्व विभागले किचकबधमा २०५८ सालमा पहिलोपटक उत्खनन् गरेको थियो । पुरातत्वविद् आचार्यकै नेतृत्वमा उत्खनन् भएको थियो । यसपटकको  उत्खनन् सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा  पनि उत्खनन् भएको थियो । विराट राजाको सेनापति एवम् सालो किचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको  सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए । (रासस)