विजयपुर । धरानमा पहिलो पटक विश्व नेवा दिवस मनाइएको छ ।

शनिबार नेवार समुदायले ‘विश्व नेवा दिवस’ मनाएका हुन् । सात वर्ष अघिबाट हरेक वर्ष अङ्ग्रेजी सम्बत् मार्च महिनाको अन्तिम शनिबार मनाइँदै आएको छ । 

विश्व नेवाः दिवसमा साँझ नेवाः देय दबू केन्द्रीय सल्लाहकार सरला कायस्थले राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरी दीप प्रज्वलन गरी दिवस मनाइएको हो । धरान–३ स्थित पुरानो बजारमा रहेको शङ्खधर साख्वा पार्कमा नेवार एकता समाज धरान अन्तर्राष्ट्रिय उपसमितिले विश्व नेवाः दिवस आयोजना गरेको हो ।

समाजका अध्यक्ष महेश श्रेष्ठले दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको बताए । उनले आफ्नै भाषा र लिपि, संस्कार संस्कृति रहेकोले विश्वमा इतिहास रचेको भन्दै विश्व नेवाः दिवस मनाउन थालिएको बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो ।’ धरानमा पहिलो पटक मनाउने भएपछि पूर्वका बिर्तामोड, सङ्खुवासभा, विराटनगरमा पनि विश्व नेवाः दिवस मनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।