सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका वडा नम्बर –९ सतीघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ।

शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा समस्या देखिएपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवत–जावतमा समस्या उत्पन्न भएको छ ।

चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर आवत–जावत ठप्प भएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए। उनका अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ।

फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन्। अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो। सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।

अरुण नदीको सतीघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो ।

सङ्घीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक एक सयवटा जति साना–ठूला सवारीसाधन आवत–जावत गर्दै आएका थिए।