भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका गतिविधिलाई तीव्रता दिएको छ। बर्सेनी खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारको गर्न नगरपालिकाले सुधारका कार्यक्रम अघि बढाएको हो।

विद्यालयमा देखिएका विद्यमान समस्याको पहिचान गरी समाधान गर्न अनुगमन तथा मूल्याङ्कनमा जोड दिइएको छ। विगतका वर्षमा पालिकाले कक्षा ५ र कक्षा ८ को परीक्षा पालिकास्तरबाट सञ्चालन गरेर उत्तरपुस्तिका सम्बन्धित विद्यालयलाई परीक्षणका लागि दिँदै आएको थियो। 

उक्त व्यवस्थामा केही परिवर्तन गरी उत्तरपुस्तिका एकै ठाउँमा ल्याएर सबै शिक्षकको उपस्थितिमा परीक्षण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंले बताए। भावी सुधारका कार्यक्रमलाई थप व्यवस्थित गराउँदै लैजाने उनको भनाइ छ। 

शैक्षिक पात्रो निर्माण गर्ने, सबै विद्यालयको परीक्षा पद्दतिमा एकरुपता ल्याउने गरी एकैसाथ सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित योजना बनाइरहेको प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिएको छ। कक्षा १ देखी ३ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने र कक्षा ४ देखि कक्षा ८ सम्म नयाँ पाठ्यक्रम निर्माण गरी अघि बढ्ने तयारी भइरहेको उनले बताएका छन्।

“सामुदायिक विद्यालयको गुणस्तर सुधारमा हामीले जोड दिएका छौँ । नगरभित्रका विद्यालयमा शिक्षा अवस्था सुधार गर्न के गर्न सकिन्छ भनेर अनुगमनलाई प्राथमिकता दिएका छौँ”, चापागाईंले भने, “देखिएका समस्याको पहिचान गरेर थप कार्यक्रमको तयारी गर्नेछौँ । कक्षा ५ र कक्षा ८ को परीक्षालाई थप व्यवस्थित बनाउँदै लैजाने निर्णय भएको छ।”

शिक्षकको मनोवल उच्च राख्न विद्यमान समस्या पहिचान गरेर तालिमसँगै आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ। समस्या समाधानसँगै दण्डसजायकोसमेत व्यवस्था गरिने प्रशासकीय अधिकृत चापागाईंले । बालबालिकाको सिकाइमा प्रभावकारी उपलब्धि वृद्धि गर्न पठनपाठन शैलीमा सुधार ल्याउने योजना बनाइएको उहाँको भनाइ  छ।

नगरपालिकाभित्र रहेका ७० विद्यालयको स्थलगत अनुगमन गरेर समस्या खोजी गरिरहेको भन्दै पहिचान भएका समस्याका आधारमा समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । सामुदायिक विद्यालयमा लगानी अनुसारको प्रतिफल नदेखिएपछि शैक्षिक सुधार अभियान सञ्चालन गरिएको उनको भनाइ छ। नगरपालिका, शिक्षक र अभिभावक सुझाव तथा सक्रियतामा शिक्षा सुधारका लागि पहल थालिएको उनले बतोएका छन् ।

“बर्सेनी सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोप्रति नगरपालिका चिन्तित छ”, प्रमुख उदासले भने“शिक्षामा सुधार ल्याउन पालिकाको तर्फबाट हामीले आवश्यक सुधारका कार्यक्रम अघि सारेका छौँ । यहाँ देखिएका समस्यामा गम्भीर ढङ्गले अध्ययान गरेर प्रभावकारी योजना बनाउनेछौँ ।” 

नगर क्षेत्रको शिक्षाको सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको उपप्रमुख प्रमिला राईले बताए। शिक्षालाई समय सापक्षसँगै गुणस्तरीय बनाउन आवश्य देखिएकाले विद्यमान समस्या पहिचान, समाधानका उपाय तथा शिक्षकका लागि प्रोत्साहनका योजना बनाउने उनको भनाइ छ ।

“हामीले शैक्षिक सुधारको अभियान थालनी गरेका छौँ। यो अभियानमार्फत यहाँको शैक्षिकस्तर मापन हुनुका साथै सुधारको पहल पनि हुनेछ”, उपप्रमुख राईले भने, “शैक्षिकस्तर सुधारका साथै। नगरले भौतिक संरचनाको विकास, प्रविधिमैत्री शिक्षणमा पनि जोड दिनेछ ।”

उक्त अभियानअन्तर्गत वडास्तरमा सम्झौता गर्ने, नगरभित्रका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गर्ने, दुर्गम क्षेत्रमा स्वस्थ्य शिविर सञ्चालन गर्ने, शिक्षक छनोट र परीक्षा पद्दतिलाई व्यवस्थित बनाउनेलगायत काम गरिने नगरपालिका कार्यालयले जनाएको छ।