धरान । भान्सामा आगलागी हुनबाट बचाउन धरान–३ मा गृहिणीहरूका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिको आयोजना र पार्टीको धरान–३ वडा समितिको संयोजनमा आयोजित सचेतना कार्यक्रममा प्रशिक्षक खेमप्रसाद फुयाँलले विद्युत्बाट आगो लागेमा कहिल्यै पानी हाल्न नहुने बताए ।

त्यस्तै ग्याँसबाट आगलागी हुँदा हड्बड नगरी संयमता अपनाए सजिलै आगो निभाउन सकिने बताउँदै भने, ‘अत्तालिएर दौडिनुभन्दा विस्तारै निभाउनसके क्षति हुनबाट बच्न सकिन्छ ।’ उनले ग्याँस सिलिन्डरबाट लागेको आगो निभाउने विभिन्न तरिकाहरू प्रयोग गरेर देखाएका थिए । स्थानीय गृहिणी महिलाहरूले पनि आगो निभाउने अभ्यास गरेका थिए ।

अहिले आगलागीको समय भएकाले गृहिणीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको रास्वपा धरान नगर समिति अध्यक्ष सुमन श्रेष्ठले बताए । उनले अब हरेक वडामा आगलागीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।