विजयपुर । तीनचक्के सवारीसाधनको आयात बन्द गर्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

शनिबार धरानमा कार्यरत टेम्पो तथा इलेक्ट्रिक रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष राईले धरानमा टेम्पो र इलेक्ट्रिक रिक्सा (सफारी) को आयातलाई नियन्त्रण नगर्दा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकाले नयाँ दर्तालाई तत्काल रोक्नुपर्ने बताए । करिब चार हजारको सङ्ख्यामा टेम्पो र पाँच हजार हाराहारीमा सिटी सफारी रहेको उनले बताए । उनका अनुसार पाँच सय बस, ३ सय बढी साना सवारीसाधन मात्रै रहेको धरानको बसपार्क तथा पिक एन्ड ड्रपले सवारीसाधनहरूको भार थेग्न नसक्ने अध्यक्ष राईको भनाइ छ । उनले मुख्य चुनौती हाल सञ्चालनमा रहेका सवारीसाधनहरूको व्यवस्थापन रहेको बताउँदै भने, ‘त्यसको नियन्त्रण गर्न नयाँ दर्ता रोक्नुपर्छ ।’

धरानमा सञ्चालन भइरहेका टेम्पो र इलेक्ट्रिक रिक्साको नियमन र वास्तविक तथ्याङ्कका लागि नगरपालिकाले जारी गरेको नम्बरसहितको स्टिकर केही सङ्घ–सङ्गठनहरूले दुरुपयोग गरिरहेको अध्यक्ष राईले बताए । उनले चालकहरूबाट अनधिकृत रकम असुल गरेकोप्रति राईले विरोध जनाए । उनले नगरपालिकाले सम्बन्धित चालकहरूलाई कार्यालयमा बोलाई दर्ता गरेर स्टिकर प्रदान गर्नुपर्नेमा प्रति स्टिकर ५० रुपैयाँ लिएर एकमुष्ठ स्टिकर हस्तान्तरण गरेका कारण समस्या भएको उनको भनाइ छ ।

भेलामा चालकहरूले पार्किङको समस्या, ट्राफिक व्यवस्थापनको समस्या विकराल रहेको बताएका छन् । चालकले स्थानीय सरकारले समेत समस्यामा ध्यान नदिँदा पेशा सङ्कटमा परेको र गरीखान पनि समस्या भएकाले अध्यक्ष राईलाई समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । भेलाले पार्किङ समस्या, दर्ताको समस्या, भाडा दररेटको समस्या, कानूनी समस्याहरू र ट्राफिक व्यवस्थापन लगायतका समस्याहरूलाई सूत्रबद्ध गरी सरोकारवालाहरूसँग समन्वय गरेर समस्याको समाधान खोज्ने उद्देश्यले टेम्पो इकाई कमिटी गठन गरेको छ ।

नौ सदस्यीय समितिको अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्ष गौतम राई, सचिव घनश्याम आचार्य, सह–सचिव सोभित राई, कोषाध्यक्ष दलबहादुर तामाङ र सदस्यहरूमा लक्ष्मण गजमेर, श्याम राई, कुमार राई र तीर्थ खड्का रहेका छन् । समितिको सल्लाहकारमा गोपी योगी चयन भएका छन् । सङ्गठनका धरान उपमहानगरका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न भेलामा सङ्गठनका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज लक्ष्मी बानियाँ, कोशी प्रदेश सदस्य दुर्गा खतिवडा नेपाल, सुरक्षा श्रमिक ट्रेड युनियन धरान अध्यक्ष गोपी योगी, प्रेस चौतारी नेपाल सुनसरी उपाध्यक्ष विकास चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।